प्रधानमन्त्रीको निर्देशनबिरूद्ध अडान लिने दुई सञ्चालकको जागिर चट
२० साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनविरूद्ध नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकमा अडान लिने दुई सञ्चालकको जागिर चट भएको छ । प्रधानमन्त्रीको निर्देशनविरूद्ध बैठकमा अडान राखे लगत्तै स्पष्टिकरण सोधिएका प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई सरकारले बर्खास्त गरेको हो ।
सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पुन र आचार्यलाई बर्खास्त गर्नुभएको हो । आठ अर्ब रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी रहेका ६ वटा उद्योगको बिजुली विद्युत् प्राधिकरणले काटिदिएपछि ती उद्योगका सञ्चालकले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताको दैलो चाहर्दै गुहार मागेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिए लगत्तै ती उद्योगमा तत्कालै बिजुलीको लाइन जोड्न निर्देशन दिनुभएपछि साउनको ७ गते प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकमा सञ्चालकद्धय आचार्य र पुनले प्रधानन्त्रीको निर्देशनविरूद्ध धारणा राखेर लाइन जोड्न नहुने तर्क राख्नुभएको थियो ।
उहाँहरूलाई साउन १६ गते ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । तर चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै मन्त्री खड्काले अस्ति शुक्रबार नै बर्खास्त गर्नुभएको थियो । यद्यपी निर्णयको कार्यान्वय आइतबार विदाको दिनमा पनि कार्यालय खोलेर गरिएको छ ।
प्राधिकरणले असार २५ गतेदेखि पैसा नतिरेका रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटेको थियो । प्रधानमन्त्रीको निर्देशनपछि तत्कालका लागि ती उद्योगमा विजुलीको लाइन जोडिएको छ ।
पुन र आचार्य नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कोटामा सञ्चालकमा नियुक्त हुनुभएको थियो ।
प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार १७:५४