९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

बैंकको ऋण तिर्न निर्माण व्यवसायीले पाए थप ५ महिना समय

१७ साउन, काठमाडाैँ । निर्माण व्यवसायीले बैंकको ऋण तिर्न थप ५ महिना समय पाएका छन् ।

नेपाल राष्ट्र बैंकले वुधबार चालु आर्थिक वर्षको ल्याइएको मौद्रिक नीति कार्यान्वयन गर्न यस्तो परिपत्र जारी गरेको हो।

राष्ट्र बैंकले परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायीलाई २०८१ असारसम्म भुक्तानी गर्नुपर्ने सावाँ र ब्याज रकम तिर्नका लागि २०८१ मंसिरसम्म समय थपिदिन बैंकहरूलाई निर्देशन दिएको हो।

त्यस्तै, राष्ट्र बैंकले यसरी उठाउनुपर्ने ब्याजलाई पुँजीकरण गर्न र पेनाल ब्याज, हर्जाना लगाउन नपाइने व्यवस्था  गरेको छ । निर्माण व्यवसायीलाई कालोसूचीमा समेट्ने प्रावधानलाई पनि खुकुलो बनाइएको छ । अब २०८१ मंसिरसम्म चेक अनादर भएको कारणले मात्र निर्माण व्यवसायी संस्थालाई कालोसूचीमा समावेश नगर्न नपर्ने व्यवस्था गरिएको हो।

मौद्रिक नीतिको व्यवस्थाअनुसार असल ऋणमा १.१० प्रतिशत मात्र ऋण नोक्सानी व्यवस्था गर्नुपर्ने, खराब ऋण नियमित भएमा ६ महिना निगरानीमा वर्गीकरण गरेर असल वर्गमा स्तरोन्नति गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै,कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २.५ करोडसम्मको ऋणलाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने भएका छन् । ऋणीको चालुपुँजी ऋण नवीकरण र चालुपुँजी प्रयोजनको आवधिक ऋण पुनरावलोकन गर्दा २०८२ को साउन १ गतेबाट मुल्यांकन (भेरियन्स एनालाइसिस) गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १०:१८