२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

काठमाडौँको ढल्कुमा दुई समूहबीच झडप, १ जनाको मृत्यु, ६ घाइते

१६ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१७ ढल्कुमा आज दुई समूहबीच भएको झडपमा परी १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । यस्तै झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन् ।

घाइतेको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँका अनुसार उक्त घटनामा पोडेटोलका सात जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१७ पोडेटोल बस्ने १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ को सागर देउला, ४६ वर्षीय रवीन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी तथा २२ वर्षीया सञ्जाली पुजारी रहेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार २१:०९