१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

१० कक्षा पढ्दा पढ्दै घरबाट भागेका नुवाकाेटका नवराज थापा युएईमा बने ग्यारेज मालिक

-भुपराज बस्याल

यूएई –१० कक्षा पढ्न बुवासँग एक सय रुपैयाँ लिएर किताब किन्न भनी ०३८ सालमा काठमाडौं छिरेका नुवाकोटका नवराज थापा अहिले यूएईमा ग्यारेजका मालिक बनेका छन् । घरबाट किताब किन्ने बहानामा काठमाडौं आएका थापा अध्ययन छोडेर ग्यारेजको काममा लागेका थिए । केही समय काठमाडौंमा बसेर यूएई आएका थापा अहिले स्थापित व्यवसायीमात्र होइन, रोजगारदाता समेत बनेका छन् ।

सानैदेखि व्यापार व्यवसायमा रुचि राख्ने थापाले भिजिटमा यूएई आएर भाडामा ग्यारेज लिएर चलाउन सुरु गरेका थिए । आफ्नै काम गर्नुपर्छ भन्दै ऋण खोजेर यूएई छिरेका थापाले यूएई आएपछि पनि साथीभाइबाट ऋण खोजेर ग्यारेज भाडमा लिएका थिए । २००६ मा यूएई छिरेदेखि नै आफ्नै व्यवसाय सुरु गर्न लागिपरेका थापाले क्रमशः ऋण तिर्दै २०११ मा आफ्नै लगानीमा कम्पनी सन्चालन गरेका थिए । यूएईको सारजहाँ राज्यको इन्डस्ट्रियल एरिया १५ नेसनल पेन्ट नजिकै अल माहाब मेकानिल रिपोर्टिङ नाममा व्यवसाय सुरु गरेका थापा हाल दुई वटा कम्पनीका मालिक बनेका छन् ।

सुरुमा एउटा सानो ग्यारेजबाट सुरु गरेका थापाले अहिले गाडी डेन्टिङ पेन्टिङसम्म सबै काम हुने ग्यारेज खोलेका छन् । सबै काम आफैैँ गर्ने सीप भएका थापाले अहिले तीन छोरामध्ये दुई छोरालाई त्यही कम्पनी सम्हाल्ने जिम्मेवारी दिएका छन् । तीन छोरा र एक छोरीका बुबा बनेका थापा भन्छन्, “अब बूढो हुँदै गइयो । त्यसैले छोराहरूलाई जिम्मेवारी दिँदै गएको छु ।” जेठो र माइलो छोरालाई साथमै राखेर जिम्मेवारी दिएका छन् भने कान्छो छोरालाई काठमाडौमा पढाउँदै छन् । छोरीलाई यूएईमै राखेर व्यवसाय सम्बन्धी पढाइराखेका छन् ।

ग्यारेज स्थापना कालदेखि घर परिवारले नै चलाउँदै आएका उनले स्टाफ राखेको धेरै भएको छैन । “सानो हुँदासम्म हामी बाउछोराले नै चलाउँदै आएका थियौं । अहिले ठूलो ग्यारेज थपेपछि हामीले मात्रै चलाउन नसक्ने भएपछि स्टाफ राखेका हौं,” उनी भन्छन् । जेठो छोरो सन्जोग थापालाई म्यानेजमेन्टको जिम्मेवारी दिएका छन् भने माइलो छोरा सन्देश थापाले मेकानिकल हेर्छन् । आफैैँ मेकानिक भएका थापाले आइपरेका सबै समस्या आफैं समाधान गर्नतिर लाग्छन् ।

सीपले दिएको आत्मनिर्भरता 
सीप भएको व्यक्ति कुनै ठाउँमा असफल हुन पर्दैन भन्ने गतिलो उदाहरण बनेका छन् नवराज थापा । सानैदेखि एउटा सीपमा लागेका थापा बीचमा विभिन्न कामतिर लागेपनि अन्तिममा भने त्यही सीपले उनलाई मालिक बनाएको छ ।

वैदेशिक रोजगारको लागि मात्रै नभएर आफ्नो जिन्दगी सहज जिउनको लागि सीपको आवश्यकता पर्छ भन्ने उदाहरण दिएका थापाले सबैलाई सीप सिक्न समेत आग्रह गर्छन् । “सायद मसँग यो ग्यारेजको सीप नभएको भए म पनि सामान्य कामदारको जीवन जिइरहेको हुन्थे होला । यहि सीपले मलाई आत्मनिर्भरता बनायो, अनि दुबई छिरेर आफ्नै व्यापार गर्नतिर लागें,” सानैदेखि केही सीप सिक्नुपर्छ भन्ने सोचाइ राख्ने उनी भन्छन्, “म काठमाडौ आएर अरु कामतिर लागेको भए म आज अन्य काममा हुन्थे होला । ग्यारेजतिर लागियो र आज यही सीपले यहाँ ल्यायो ।”

विदेशमा बसेर नेपाल र नेपालीहरूलाई राम्रोसँग नजिकबाट हेरेका थापा भन्छन्, “नेपालमा बेरोजगार बढ्नु, वैदेशिक रोजगारमा गएका नेपालीहरूले दुःख पाउनु सबै सीप नहुनुको कारण हो । त्यसैले सीप सिकेर सबैलाई आत्मनिर्भर बन्नुपर्छ ।” काराेबार दैनिकबाट

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार १७:०५