१३ पुष २०८१, शनिबार | Sun Dec 29 2024

२० वर्षपछि टुंगियो गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा, अकुत सम्पत्तिको स्रोत खुलेन

१३ साउन, काठमाडाैँ । पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा २० वर्षपछि टुंगिएको छ । सर्वोच्च अदालतले अाइतबार पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनलाई ६९ लाख १५ हजार जरिवाना तोकिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले भ्रष्टाचारी ठहर गर्दै ९ महिनाको कैद हुने सजाय सुनाएको छ । मुद्दामा ४८औं पेसीपछि आइतबार फैसला भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा १८ पुस, २०६० सालमा जोशीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेषले पहिलो पटक सफाइ दिए पनि दोस्रो पटक सुनुवाइ गरेर  विशेष अदालतले २०६९ साउन १० मा भ्रष्टाचारी ठहर गरेको थियो । त्यसपनि चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा २०६९ फागुन ६ गते पुनरावेदन गरेको थियो ।

विशेष अदालतले उनीसँग बिगो र जरिवाना गरी ४ करोड ३२ लाखसहित डेढ वर्ष कैद सजायको फैसला सुनाएको थियो । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले उक्त फैसला सुनाएको थियो । तर सर्वोच्चले भने अन्यलाइ सफाइ दिँदै जोशीको कैद र जरिवाना घटाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आईतवार २०:५१