२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

प्राविधिक सीप र क्षमता विकासका लागि ‘एनएफपिजे’ को तालिम

१२ साउन, काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को आयोजनामा दुईदिने व्यक्तित्व विकास तथा ‘फ्ल्यासफोटोग्राफी’ तालिम सम्पन भएको छ ।

एनएफपिजे नेपालको केन्द्रीय समितिका १३ जना फोटोपत्रकारका लागि सो तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष प्रदीपराज वन्तले प्राविधिक सीप र क्षमता विकासका लागि यस्ता कार्यक्रम अनिवार्य भएको बताउनुभयो ।

अध्यक्ष वन्तले विभिन्न सन्चार माध्यममा आवद्ध फोटोपत्रकारहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने र नेपालमै बसेर फोटोपत्रकारितामार्फत विश्वलाई नेपालबारे जानकारी दिन सकिन्छ भन्ने विश्वास जगाउन तालिमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा नेपालभरका फोटोपत्रकारलाई यस्ता तालिम उपलब्ध गराउन एनएफपिजे नेपाल लागिपर्ने बताउनुभयो ।

दुईदिने तालिममा नेपाल फोटोग्राफर महासङ्घका महासचिव डिगम्वर राजवंशीले क्यामेरामा प्रयोग हुने फ्ल्यास कसरी प्रयोग गर्ने र विश्वमा उपलब्ध फ्ल्यासबारे जानकारी गराउनुभयो ।

त्यस्तै, व्यक्तित्व विकाससम्बन्धी अक्षरा स्कुलका प्रमुख कार्यकारी अधिकृत तथा ‘मोटिभेसनल स्पिकर’ राजेश शर्माले संस्थाको हकहित साथै कसरी फोटोपत्रकारको व्यक्तिव विकास गर्न सकिन्छ भन्ने विषयमा प्रवचन दिनुभयो । उहाँले आत्मविश्वास बढाउने ‘पहिरन’ कसरी लगाउने, भोलिका दिनमा कसरी आफूलाई गुणस्तरीय फोटोपत्रकारितामा सहभागिता गराउने भन्नेमा तालिममा सहभागीलाई जानकारी गराउनुभयो ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार १८:०२