३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

ठाडी भन्सारबाट लक्ष्यभन्दा कम राजस्व सङ्कलन

१२ साउन, काठमाडौँ । जिल्लाको भगवानपुर गाउँपालिका–४ ठाडीस्थित भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्यभन्दा आधाले घटेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु पाँच करोड राजस्व कम सङ्कलन गरेको हो ।

कार्यालयले गत आवमा रु नौ करोड नौ लाख ९३ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु चार करोड १९ लाख २२ हजार राजस्व सङ्लकन गरेको कार्यालयका सूचना अधिकारी विनय चौधरीले जानकारी दिनुभयो ।

कार्यालयले राजस्व चुहावट नियन्त्रण, चोरीपैठारी रोक्न नियमित भन्सार गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीबाट चार सय ५० मुद्दा दर्ता भई चार सय २० मुद्दाको टुङ्गो लागाएको सूचना अधिकारी चौधरीले बताउनुभयो ।

कार्यालय प्रमुख मुकेशकुमार पाठकले राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताउँदै पर्याप्त जनशक्ति नहुँदा अवैध चोरी पैठारी नियन्त्रण गर्न कठिनाइ भइरहेको जानकारी दिनुभयो । उहाँले भारतबाट भित्रिने सवारीसाधन, टायल्स तथा मार्बलबाट बढी राजस्व सङ्कलन हुने गरेको बताउनुभयो । उहाँले पछिल्लो समय निर्यातको अवस्था पनि कमजोर रहेको उल्लेख गर्नुभयो ।

विसं २०७५ अघि छोटी भन्सारका रुपमा रहेको उक्त कार्यालय विसं २०७७ देखि ठाडी भन्सारका रुपमा रुपान्तरण भएको थियो । यहाँ खाद्य, पशुलगायतको क्वारेन्टिन छैन ।

“खाद्य वस्तु, पशुचौपायाको भन्सार कट्दैन । सोही कारणले राजस्व सङ्कलनमा असर परेका हो”, कार्यालय प्रमुख पाठकले भन्नुभयो । उहाँका अनुसार प्रमुखसहित १९ जनाको स्वीकृत दरबन्दी रहेकामा हाल कार्यालयमा स्थायी नौ र करारमा दुईजना कर्मचारी कार्यरत छन् ।

ठाडी भन्सार कार्यालयले गत आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि चालु आवमा रु चार करोड २३ लाख ४२ हजारको लक्ष्य पाएको प्रमुख पाठकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार १३:०३