२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

२० करोड लगानीमा तयार भएको भेडेटार स्काइ वाक आजबाट सञ्चालनमा

११ साउन, काठमाडौँ । निजी क्षेत्रको २० करोड लगानीमा तयार भएको भेडेटार स्काइ वाक आजबाट सञ्चालनमा आएको छ । कम्पनीका सञ्चालक समेत रहेका इन्जिनियर सञ्जिव रोकाहाले स्काइ वाक शुक्रबारबाट सञ्चालनमा आएको दैनिकीलाई  जानकारी दिए । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत  कार्कीले स्काइ वाकको उद्घाटन गर्दैछन ।

स्काइ वाक भेटेटारमा सुरूमा प्रवेश शुल्क पाँच रूपैयाँ तोकिएको रोकहाले जानकारी दिए । कोशी प्रदेशको लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको सहकार्यमा वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्याक्सन्स प्रालिले यो स्काइ वाक निर्माण गरेको हो । तत्कालका लागि २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन । रोकाहाले बञ्जी र जिपलाइन पनि सञ्चालनको तयारी रहेको जानकारी दिए ।

२५ वर्षका लागि वनको जग्गाको भोकाधिकार प्राप्त गरेको वण्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्याक्सन्स प्रालिले स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर पुल निर्माण गरेको छ । स्काइ वाकमा एकै पटकमा २०० जना हिंड्न सक्ने छन् । सिसाको स्काइ वाकको तल भीर भएकाले  पर्यटकले ‘थ्रील’ अनुभव लिन सक्नेछन ।

स्काइ वाक साँगुरी गढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुनसरीको सिमानामा रहेको छ । यस ग्रुपले काठमाडौंको कमलादीमा ‘स्काइ वाक टावर’ र इलामको कन्याममा ‘कन्याम क्लाउड’ नामको स्काइ वाक सञ्चालनमा ल्याइसकेको छ ।

सार्वजानिक निजी साझेदारी मोडलको प्रदेशबाट प्रारम्भ भएको यो मुलुककै पहिलो परियोजना रहेको सञ्चालक रोकाहाको दाबी छ । उनले नेपालको पर्यटन क्षेत्र प्रस्तुत गरेको नौलो प्रयासलाई सबैले माया दिने विश्वास व्यक्त गरे । यस स्काइ वाक निर्माणका लागि नेपाल पूर्वाधार विकास बैंकले लगानी गरेको छ । भिडियो तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार ०८:५६