१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी

१० साउन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति भोलि शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ।

एक हप्ताअघि नै सार्वजनिक गर्ने तयारी भए पनि अन्तिम चरणमा रोकिएको थियो। योसँगै मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको हो।

गत हप्ता शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा थप छलफल गर्ने भन्दै मौद्रिक नीति सार्वजनिक भएकाे थिएन ।

शुक्रबार राष्ट्र बैंकको बोर्ड बैठक बस्दै छ । जसमा मुख्य एजेण्डा मौद्रिक नीति पारित गर्ने नै हुन सक्ने राष्ट्र बैंकका एक अधिकारीले बताए। आर्थिक वर्ष सकिएको १५ दिनभित्र मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेकोले पनि शुक्रबार आउने सम्भावना उच्च रहेको उनले बताए।

राष्ट्र बैंकले यस पटक अर्थतन्त्र चलायमान हुनेगरी लचिलो व्यवस्थासहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कर्जा विस्तार बढाउने गरी मौद्रिक नीतिमा केहि नीतिगत परिवर्तन गर्ने तयारीमा राष्ट्र बैंक छ।

यसपटक राष्ट्र बैंकले निर्माण क्षेत्रलाई विशेष सहुलियत दिने बताइएकाे छ । यस्तै घरजग्गा र सेयर बजारमा पनि बैंकले थप लचिलो नीति ल्याउने संकेत गरेकाे  छ। राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार घटाउने तयारी समेत गरेकाे छ। त्यस्तै बैंकहरुको नाफा बढ्ने गरी केहि नीतिगत परिवर्तन समेत गर्ने तयारी रहेकाे जनाइएकाे छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १३:१२