२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

उद्योगलाई कारबाही गरेर मात्र १० करोड बढी राजस्व संकलन

९ साउन, जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले लामो समयदेखि राजस्व नबुझाउने २० वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमाथि कानुनी कारबाही गरी रु १० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख किशोर बर्तौलाकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा कानुनी कारबाही गरेर जरिवानाबाट उक्त रकम सङ्कलन गरिएको हो । लामो समयदेखि कर अर्थात राजस्व नबुझाउने एक सय ७८ व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने सूचना जारी गरेपछि त्यसमध्येका २० व्यावसायिक प्रतिष्ठानले जरिवाना रकम बुझाएका हुन् ।

कार्यालयबाट प्राप्त विवरणअनुसार कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छन् । जसमध्ये गत आर्थिक वर्षमा १५ हजार करदाताले वार्षिक आयव्यय अर्थात राजस्व बुझाएका छन् । अहिलेसम्म २२ हजार व्यावसायिक पान नम्बर लिएका करदाताले राजस्व नतिरेको कार्यालयबाट प्राप्त विवरणमा उल्लेख छ ।

साथै अघिल्लो आव २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलनमा वृद्धि भएको कार्यालयले जनाएको छ । अघिल्लो आवमा रु तीन अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु तीन अर्ब ४४ करोड राजस्व सङ्कलन भएको थियो । कार्यालयलाई गत आर्थिक वर्ष रु चार अर्ब ४६ करोड ६३ लाख ९३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु तीन अर्ब ८२ करोड ८३ लाख ७५ हजार राजस्व सङ्कलन भएको थियो । अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिनुभयो ।

गत आवमा कार्यालयले लिएको लक्ष्यअन्तर्गत आयकर वापत रु एक अर्ब ४५ करोड ४७ लाख, घर भाडावापत रु छ करोड ३५ लाख ६६ हजार, ब्याजकर वापत रु ११ करोड ११ लाख २२ हजार मूल्य अभिवृद्धिकरवापत रु एक अर्ब ३० करोड १५ लाख ५५ हजार, अन्तशुल्क वापत रु एक अर्ब ५३ करोड ४२ लाख ८७ हजार, स्वास्थ्यकर वापत रु ११ लाख तीन हजार तथा शिक्षाकर वापत रु ४९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

गत वर्ष आयकरवापत रु एक अर्ब १९ करोड ३८ लाख ७१ हजार, घरभाडा वापत रु रु तीन करोड ५० लाख २२ हजार, ब्याजकरवापत रु सात करोड २० लाख ७४ हजार, मूल्यअभि वृद्धिकरवापत रु ९७ करोड ७८ लाख ६२ लाख, अन्तशुल्ककरवापत रु एक अर्ब ५४ करोड ६६ लाख २१ हजार, स्वास्थ्यकरवापत रु १५ लाख ३१ हजार, शिक्षाकरवापत एक लाख ६८ हजार तथा अन्यकरवापत रु १२ लाख २६ हजार गरी कूल रु तीन अर्ब ८२ करोड ८३ लाख ७५ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १९:३८