२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

नुवाकोटको सूर्यगढी गाउँपालिकामा शिक्षक नियुक्तिमा हुन लागेको भ्रष्टाचार रोकियो

९ साउन, नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका विभिन्न नाममा विवादमा आइरहन्छ । गाउँपालिका स्थापना भएदेखि अहिलेसम्म नेपाली कांग्रेसको नेतृत्वमा रहेको सूर्यगढी कमिसन, भ्रष्टाचार र  तस्करीका नाममा विवादमा मुछिरहेको हुन्छ । यसअघि सोही गाउँपालिकाको मंगलादेवी माविका प्रधानाध्यापक दत्तप्रसाद न्याैपानेले छोरीको जागिरका लागि शिक्षक नियुक्तको विज्ञापनमा गरेको भ्रष्टाचारको विषय सेलाउन नपाउँदै अर्को विद्यालयको शिक्षक नियुक्तिमा हुन लागेको भ्रष्टाचार रोकिएको छ ।

गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता सन्तबहादुर घले तामाङको दबाबमा वडा नम्बर ४ को कालिका माध्यामिक विद्यालयमा नियम विपरित कांग्रेस कार्यकर्ता भर्ति गर्नका लागि भएको प्रयास शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा विकास तथा समन्वय इकाइले रोकिए दिएको छ ।

स्थानीय अभिभावकहरूले शिक्षक नियुक्तिको नाममा हुन लागेको अनियमितताको बारेमा उजुरी गरेपछि इकाइले गाउँपालिकालाई पत्र लेख्दै शिक्षक छनौटको प्रक्रिया शिक्षा ऐन र नियमावली अुनसार पुनः गर्न पत्राचार गरेको छ । इकाइले २०८१ वैशाख १२ गते गाउँपालिकालाई पत्र लेखि अबैध र अपरदर्शी रूपमा गर्न लागिएको शिक्षकको विज्ञापन रद्द गरी शिक्षा ऐन र नियमावली अनुसार गर्न अनुरोध गरेको छ।

गाउँपालिका अध्यक्ष सन्तबहादुर घले भने इकाइले कहिले शिक्षक नियुक्ति र गर त कहिले नगर भनेर दुःख दिएको बताउँछन । बुधबार बिहान दैनिकीसँग कुरा गर्दै अध्यक्ष घलेले भने, ‘इकाइको पत्र आएको छ तर उक्त पत्रबारे के गर्ने भन्ने केही निर्णय भएको छैन । उसैले कहिले शिक्षक नियुक्ति गर्छ भन्छ त कहिले नगर भन्छ । बरू तपाईहरूले भने सम्झाइदिनुपर्यो ।’

गाउँपालिकाको शिक्षा अधिकृत नवराज पुरी भने इकाइको पत्र र नियमाअनुसार मात्र शिक्षक नियुक्ति हुने र नियम अनुसार हुने काममा मात्र आफ्नो सहभागिता रहने बताउँछन । उनले दैनिकीसँग कुरा गर्दै भने, ‘हामीलाई इकाइले पत्र लेखेर शिक्षा ऐन र नियमावली अनुसारमात्र शिक्षक नियुक्ति गर्न भनेको छ । यस कुरामा म पनि जिम्मेवार नै छु, गाउँपालिका अध्यक्ष, प्रधानाध्यापक लगायत पनि जिम्मेवार नै हुनुहुन्छ भन्ने लाग्छ ।’

गाउँपालिका अध्यक्ष घलेले भने प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेल लगायत प्रयोग गरेर पुरानै विज्ञापनका आधारमा आफ्ना कार्यकर्ता शिक्षकमा नियुक्त गर्न दबाब दिइरहेका छन । कालिका मावि कांग्रेसले राजनीतिक भर्तिको केन्द्र बनाउनकै लागि तीन वर्षदेखि विद्यालय व्यवस्थापन समिति नेतृत्वबिहीन बनाएर राखेको छ ।

अहिले व्यवस्थापन समितिको संयोजकको रूपमा वडा नम्बर ४ का वडा अध्यक्ष रामशरण राईले काम गरिरहेका छन । अहिले अनियमित तवरमा गरिएको विज्ञापनबाट शिक्षक भर्तिका लागि प्रमुख भूमिका पनि उनैले खेलीरहेको दैनिकीको सम्पर्कमा आएका एक अभिभावकले बताए ।

dainiki.com

गाउँपालिकाले राहत अनुदान कोटामा  नियुक्तिका लागि  २०८० भदौ २६ गते निम्न माध्यामिक तहको सामाजिक र गणित विषयको शिक्षकका लागि दरखास्त मागिएको थियो । सात दिने सूचना भनेर प्रकाशित भएको उक्त विज्ञापन सातौ दिनको अन्तिम समय अर्थात विज्ञापनमा दरखास्त दिन मिल्ने समय गुजारेर सूचना टाँस गरिएको थियो । शिक्षक नियुक्त गर्न लागिएका दुई जना कांग्रेस कार्यकर्ताको निवेदन लिएरमात्र विज्ञापन गरिएको स्थानीय अभिभावकले बताएका छन ।

शिक्षा समन्वय इकाइले चलानी नम्बर ६८४ को मिति २०८० चैत ६ गतेको पत्रबाट नयाँ प्रक्रिया सुरू गरेमात्र शिक्षक नियुक्तिको काम गर्न अुनरोध गरेको छ । गाउँपालिकाले शिक्षक नियुक्तिको विवाद भएपछि सेटिङका लागि कालिका माविका प्रधानाध्यापक बलराम भारतीलाई शिक्षा सहजकर्ता बनाइ राजु मिजारलाई प्रधानाध्यापक जिम्मेवारी दिएको छ । भारतीले नै गलत बाटोबाट शिक्षक नियुक्तिका लागि पछिल्लो पटक चलखेल गरिरहेका छन ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ०९:५७