२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

लुम्बिनीमा लिलामाथि एमालेको ‘कु’, उपनेता आचार्य मुख्यमन्त्रीमा नियुक्त हुँदै

७ साउन, लुम्बिनी । लुम्बिनीमा नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीमा संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री हुने भएका छन । महासचिव शंकर पोखरेलका विश्वासपात्र आचार्य मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन ।

लुम्बिनी प्रदेशसभामा रहेका एमालेका एक सांसदले दैनिकीसँग भने, ‘संसदीय प्रचलन विपरित लुम्बिनीमा संसदीय दलको नेतालाई पाखा लगाएर उपनेतालाई मुख्यमन्त्रीमा नियक्त गर्न लागिएको हो । आचार्यलाई दलको नेता बनाएर मुख्यमन्त्री बनाएको भए पनि हुन्थ्यो तर दलको नेता लिला गिरीलाई नै राखेर उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउँदा स्वभाविक चाहिँ देखिएन ।’

आइतबार साँझसम्म एमालेबाट दलका नेता गिरी नै मुख्यमन्त्री हुने तय भएको थियो तर महासचिवको निर्देशनपछि उप नेता आचार्यले मुख्यमन्त्रीको नियुक्ति लिँदैछन । एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको पुष्टि गरे । उनले भने ‘अहिले हामीले मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने गरी दाबी पेश गर्दैछौं ।’

आचार्यले पनि पार्टीले आफूलाई सरकारको नेतृत्वको जिम्मेवारी दिएको र सोहीअनुसार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न जाने तयारी गरेको बताएका छन । आचार्य यसअघि महासचिव पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका थिए भने माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।

उनी लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री रहेका थिए । आचार्य अर्घाखाँचीबाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन ।

गिरीले पार्टीले अन्याय गरेको बताएका छन । उनले केन्द्रले हस्तक्षेप गरेको र यसबारेमा पार्टी अध्यक्षको ध्यानाकर्षण गराएको बताए । उनले पार्टीले आफ्नो पक्रिया अनुसार अघि बढेको तर तर यो संसदीय मूल्यमान्यताविपरीत रहेको उनले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार १३:१०