२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

टानको अध्यक्षमा राजेन्द्रप्रसाद सापकोटाको उम्मेदवारी, सर्वसम्मत हुने सम्भावना

६ साउन, काठमाडौँ ।  ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले राजेन्द्रप्रासद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार काठमाडौँको होटल मनाङमा भएको नेकपा एमाले निकटका व्यवसायीहरूको संगठनको बैठकले सापकोटालाई अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको एमालेको विशेष प्रदेश कमिटीका सदस्य सिएन पाण्डेले जानकारी दिए ।

सापकोटा टानका लागि योग्य उम्मेदवार रहेकोका कारण सापकोटालाई  उम्मेदवार बनाउने निर्णय गरेको पाण्डेले बताए । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका सापकोटा नेपाली कांग्रेस र नेकपा एमाले निकटका व्यवसायीहरूको साझा उम्मेदवार हुने स्रोतले बताएको छ ।

अध्यक्षको उम्मेदवारीका बारेमा निर्णय गरेपछि राजेन्द्र सापकोटासहित संगठनका नेताहरू सामूहिक तस्बिर कैद गराउँदै ।

सपकोटाको पक्षमा नेकपा माओवादी निकटका व्यवसायीहरूको एउटा समूहले समेत साथ दिने बुझिएको छ । अन्तिम समयसम्म सापकोटाको नाममा सर्वसम्मतिको समेत सम्भावना रहेको समेत कतिपय व्यवसयाीले बताएका छन ।

यसअघिको टानको निर्वाचनमा दुबै पार्टी निकटका पर्यटन संगठनहरूको बीचमा भएको सहमति अनुसार नै सापकोटा अध्यक्षको उम्मेदवार तय भएका हुन । खस्कदो अवस्थामा पुगेको पदयात्रा व्यवसायको पुनर्ताजकीकरण गराउनका लागि एमाले नेतृत्वकै सरकार रहेको अवस्थामा एमाले निकटकै व्यवसायी टानको नेतृत्वको पुग्नु पदयात्रा व्यवसायका मुद्दा सम्बोधनमा झन सहज हुने व्यवसायीहरूको बुझाइ रहेको छ । छोटो समयमै पर्यटन क्षेत्रको स्थापित व्यवसायी बनेका सापकोटा आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशक हुन् ।

दुई वर्षअघि टानकै निर्वाचनको मोर्चाबाट व्यवसायीहरुले कांग्रेस र एमालेको बीचमा सहकार्यको ढोका खोलेका थएि । संयोगवश व्यवासयीको बीचमा दुई वर्षअघि भएको सहमति जस्तै सत्तामा कांग्रेस र एमालेको सहकार्य भएको छ । दीगो विकास र व्यवसायिक वातावरणका लागि दुई पार्टीका बीचमा सहकार्य हुनुपर्ने विषयमा लामो समयदेखि आवाज उठ्दै आइरहेको थियो ।

अन्य संगठनहरूसँग समन्वय र वार्ता गर्न संगठनका अध्यक्ष पूर्ण कुँवरको संयोजकत्वमा समिति गठन भएको छ  । जसको सदस्यमा यम बहादुर खड्का, जिबन थापा मगर, राम खड्का, बिष्णु पाण्डे, वान्चु शेर्पा र सुबास भण्डारी रहेका छन ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार १३:४७