२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री डा राणाको चासो

४ साउन, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिनुभएको छ ।

मन्त्री डा राणाले आज राजदूत भण्डारीलाई टेलिफोन सम्पर्कगरी त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको अवस्थाका बारेमा जानकारी लिनुभएको हो । त्यसक्रममा उहाँले नेपालीहरूलाई कुनै अप्ठ्यारो हुन नदिन र सुरक्षित तवरले आआफ्ना स्थानमा रहने वातावरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको परराष्ट्रमन्त्री डा राणाको सचिवालयले जनाएको छ ।

राजदूत भण्डारीले त्यहाँ सबै नेपाली सुरक्षित रहेका र उनीहरुलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आफ्ना क्याम्पस प्रशासनको निर्देशन पालना गर्न सूचित गरिएको जानकारी गराउनुभएको थियो ।

यस्तै त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कुनै अप्ठ्यारो परेमा सम्पर्कका लागि दूतावासका दुई जना अधिकारीको सम्पर्क नम्बर दिइएको तथा नेपाली विद्यार्थी अध्ययन गर्ने कलेज प्रशासनसँग दूताबास निरन्तर सम्पर्कमा रहेको जानकारी राजदूत भण्डारीले दिनुभयो । बङ्गलादेशमा केही दिन यतादेखि विद्यार्थीहरुले सडक प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार १५:१४