बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनमा हिंसा, अहिलेसम्म २५ जनाको मृत्यु
४ साउन, काठमाडौँ । ‘मुक्ति युद्ध’मा लडेका सैनिकका छोराछोरीका लागि ल्याइएको आरक्षणको विरूद्धमा प्रदर्शनमा हालसम्म बंगलादेशमा २५ जनाको मृत्यु भएको छ।
बिबिसी हिन्दीका अनुसार आरक्षण विरूद्ध विद्यार्थीहरूले देशव्यापी प्रदर्शन गरिरहँदा सेना र सत्तापक्षका कार्यकर्ताहरू पनि सरकारको निर्णयको पक्षमा उत्रिएपछि यस्तो हिसांत्मक घटना भएको हो ।
सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सेनाहरूलाई त्यहाँ ‘मुक्ति योद्धा’ भनिन्छ।
सरकारले तीनै सेनाका सन्तानहरूलाई सरकारी जागिरमा विशेष आरक्षण दिने नीति ल्याउदा यसलाई नै प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकहरूलाई रिझाउनका लागि उक्त नीति ल्याएको र यसले देशका अन्य युवारहरू अवसरबाट बञ्चित हुने भन्दै त्यहाँका विद्यार्थीहरू दुई सातादेखि आन्दोलनमा उत्रिएका छन् ।
प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा घटना बढ्दै गएकाले यसबाट सयौं घाइते भएको पनि बिबिसीले जनाएको छ ।
बुधबार प्रधानमन्त्री शेख हसिनाले आन्दोलनकारीहरूलाई धैर्य राख्न र अदालतको फैसला कुर्न भनेका छन्।
प्रधानमन्त्रीले सम्बोधनका क्रममा विद्यार्थीहरूको आन्दोलन र त्यसमा सहभागीहरूलाई वार्ताका लागि आह्वान नगर्नाले सरकार गैरजिम्मेवार बनेको भन्दै विद्यार्थीहरूले आन्दोलन थप सशक्त बनाएको हो ।
बुधबारको सम्बोधनमा प्रधानमन्त्री हसिनाले आन्दोलनकारीसँग वार्ता गर्ने सरकारले ल्याएको नीति बारे पुनर्विचार गरिन घोषणाको अपेक्षा विद्यार्थीहरूले गरेका थिए।
तर प्रधानमन्त्रीबाट वार्ताको गुन्जायस नआएपछि आन्दोलन थप सशक्त बनाउने आरक्षण सुधार आन्दोलनका संयोजक नाहिद इस्लामले बताएका छन्।
उनले शान्तिपूर्ण आन्दोलनलाई दबाउनका लागि सरकारले हिंसाको सहारा लिँदा अहिलेको अवस्था आएको बताएका छन्। उनले यी सबै घटनाको जिम्मेवार सरकार रहेको बताउँदै सडकबाट सुरक्षाकर्मीलाई हटाउन चेतावनी दिएका छन्।
देशभरि नै प्रदर्शन जारी हुँदा अर्को सूचना जारी नहुँदासम्मका लागि सबै विद्यालय र विश्वविद्यालयहरू बन्द गरेका छन् ।
प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार १०:५४