१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

धितोपत्र बोर्डको अध्यक्षमा महेश बराल नियुक्त

३ साउन, काठमाडाैँ । धितोपत्र बोर्डको अध्यक्षमा महेश बराल नियुक्त भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बोर्डको कार्यवाहक अध्यक्ष नरेन्द्रकुमार रानालाई हटाएर उनको ठाउँमा अर्थमन्त्रालयमा कार्यरत सहसचिव महेश बराललाई कार्यवाहक अध्यक्षमा नियुक्त गर्दै पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

अर्थमन्त्री पौडेलले बराललाई बिहिबार नै पद तथा गोपनियताको सपथ गराएका छन् । बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अदालतसम्म पुगेको हुँदा थप लम्बिएको छ । अध्यक्ष नियुक्ती नहुन्जेलसम्मका लागि आफुलाई काम गर्न सहज हुने गरी पौडेलले बराललाई नियुक्त गरेका हुन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनलाई अर्थमन्त्री पौडेलले बोर्डको संचालक सदस्यमा मनोनित गरेर अध्यक्ष तोकेका हुन् ।

बराल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक हुन् । पदबहाली पछि आयोजित स्वागत कार्यक्रममा बरालले सूचीकृत संगठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिँदै सम्पूर्ण कर्मचारीहरूलाई तोकिए बमोजिमको जिम्मेवारी निर्भिकतापूर्वक सम्पादन गर्न निर्देशन समेत दिएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १९:३३