२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

नुनको भाउ बढाएर हिँडेका दामोदर भण्डारी पुनः मन्त्री भएकै दिन पेट्रोलको मूल्य बढ्यो

३१ असार, काठमाडौँ ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पुनः मन्त्रीमा नियुक्त भएकै दिन पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको छ ।मन्त्रालय मातहतको नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बृद्धि भएको हो ।

सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यबृद्भि गर्ने निर्णय गरेको हो ।

निगमका अनुसार मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । यस्तै सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ ।

निगम सोमबार साँझ जारी गरेको विज्ञप्ति अनुसार डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ । सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० रूपैयाँ पुगेको छ ।

सरकार छाड्ने अघिल्लो दिन नुनमा मूल्यवृद्धि गरेका भण्डारी  पुनः उद्योग मन्त्री भएर पदभार ग्रहण गरेको केही घण्टामै पेट्रोलियम पदार्थमा मूल्यबृद्भि भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार २१:२२