पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध
२९ असार, काठमाडौँ । आज बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिनुभयो । “लाफा बजारनजिक लगातार पहिरो खसिरहेको छ”, उहाँले भन्नुभयो । कर्णाली करिडोरमा पहिरोका कारण सवारीसाधन नियमित रुपमा चल्न नसकेको उहाँले बताउनुभयो ।
यसैगरी कर्णाली करिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ । सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।
प्रकाशित मिति : २९ असार २०८१, शनिबार १०:१८