९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न साइरन जडान

२७ असार, काठमाडाैँ । भारतको कर्तनियाघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गको मध्वर्तीक्षेत्रका गाउँमा जङ्गली हात्तीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले हात्ती आएको सूचना प्रवाह गर्न साइरन जडान गरिएको छ ।

हात्ती प्रवेश गर्ने मार्गमा जडान गरिएको विद्युतीय तारबार हात्तीले छुने बित्तिकै जोडसँग साइरन बज्ने प्रविधि निर्माण गरिएको छ । साइरन बज्ने भएका कारण स्थानीय हात्ती आएको जानकारीसँगै सुरक्षित हुने अवसर पाउँछन् । मधुवन नगरपालिका–३ स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा बल भगरैया (विओपी) परिसरमा हात्ती लगायतका ठूला जनावरबाट हुने क्षति न्यूनीकरण गर्न विद्युतीय तारबारसहितको साइरन जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले बताउनुभयो ।

उहाँका अनुसार सम्झना सामुदायिक वन क्षेत्रमा जडान गरिएको विद्युतीय तारबारमा हात्तीको कुनै अङ्गले छोयो भने जोडसँग साइरन बज्ने भएकाले स्थानीयलाई सतर्क रहन मद्दत पुग्छ । साइरन बज्ने बित्तिकै सबै स्थानीय चनाखो हुने र सुरक्षित हुन ठूलो सहयोग पुग्दै आएको छ ।

खाता जैविकमार्ग क्षेत्रमा ३६ सामुदायिक र तीन धार्मिक गरी ३९ सामुदायिक वन छन् । त्यसअन्तर्गत पर्ने सम्झना र कमलपुर सामुदायिक वनमा एक हजार दुई सय ५० मिटर विद्युतीय तारबारमा साइरन फिट गरिएको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङ बताउनुहुन्छ । हात्ती आएको सूचना प्रवाह गर्न साइरन प्रभावकारी हुन्छ । यसै वर्षदेखि साइरन प्रविधि जडान भएकोले परीक्षणकै क्रममा रहने उहाँ बताउनुहुन्छ ।

खाता जैविकमार्ग क्षेत्रमा हात्ती–मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मधुवन–५ गाउँ नं १० शक्तिपुरमा स्थानीयको बालीनाली हात्तीले क्षति पु¥याउने भएकाले त्यसलाई धपाउँदै क्षति न्यूनीकरण गर्न पक्की मचान निर्माण गरिएको छ । करिडोर भएका कारण सो क्षेत्रमा भारतबाट समेत बेलाबेलामाा हात्तीको झुण्ड आउने गरेका छन् ।

डिभिजन वन कार्यालयको रु छ लाख ५० हजार र स्थानीय जनश्रमदान रु ७२ हजार गरी कूल रु सात लाख २२ हजारको लागतमा तीन तले पक्की मचान निर्माण गरिएको कार्यालयले जनाएको छ । पछिल्लो समय राष्ट्रिय तथा सामुदायिक वनको हैसियत सप्रियपछि वन्यजन्तुको चहलपहल बढेको छ । जङ्गल क्षेत्रमा वन्यजन्तु बढेसँगै मानवीय द्वन्द पनि उत्कर्षमा पुगेको पाइन्छ ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत द्रोणराज शर्माका अनुसार २०७० सालदेखि २०८१ असार अन्तिम सातासम्म वन क्षेत्रमा विभिन्न वन्यजन्तुको आक्रमणमा परी २१ व्यक्तिको मृत्यु भएको र ४९ जना घाइते भएका छन् भने दुई सय ८१ पशुधन क्षति भएको छ ।

त्यस्तै ४२ जनाको घरगोठ क्षति तथा तीन सय ५९ को अन्नबाली क्षति भएको डिभिजन वन कार्यालयको तथ्याङ्कमा छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १७:५४