२२ श्रावण २०८१, मंगलवार | Wed Aug 7 2024

हेल्थ असिस्टेन्ट र डिप्लोमा इन फार्मेसी १ लाख ९५ हजारमै पढ्न पाइने


२७ असार, नुवाकोट । नुवाकोटमा हेल्थ असिस्टेन्ट र डिप्लोमा इन फार्मेसी १ लाख ९५ हजारमै पढ्न पाइने भएको छ । नेपालमै पहिलो पटक गाउँपालिकाहरू मध्ये नुवाकोटको किस्पाङ गाउँपालिकाले सञ्चालनमा ल्याएको किस्पाङ बहुप्राविधिक शिक्षालयमा १ लाख ९५ हजारमा तीन वर्षको हेल्थ असिस्टेन्ट र डिप्लोमा इन फार्मेसीको कोर्स पढ्न पाइने भएको छ ।

किस्पाङ(३ काहुलेमा रहेको शिक्षालयमा शैक्षिक सत्र २०८१/०८२ का लागि हेल्थ असिस्टेन्ट र डिप्लोमा इन फार्मेसीका लागि भर्ना आह्वान गर्दै १ लाख ९५ हजारमै पढ्न पाइने सूचना जारी गरेको छ । शिक्षालयले साउन १३ गतेसम्मका लागि आवेदन खुल्ला रहने जनाएको छ । साउन १९ गते प्रवेश परिक्षा हुने शिक्षालयले जनाएको छ ।

छनोट भएका विद्यार्थीले ३ वर्षका लागि १ लाख ९५ हजार शुल्क बुझाउनुपर्नेछ । शिक्षालयमा शान्त बातावरण, दक्ष तथा अनुभवी प्रशिक्षक, न्युनतम शुल्क, प्रशस्त प्रयोगात्मक अभ्यास र आफ्नै छात्रावासको व्यवस्था समेत रहेको छ । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा गाउँपालिकाले गाउँसभा मार्फत बजेट सुनिश्चित गरेर किस्पाङ बहुप्राबिधिक शिक्षालय स्थापना गरी ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’ को कक्षा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

निजीमा करिब ४ लाख रूपैयाँ फार्मेसी इन डिप्लोमा र करिब पाँच लाख रूपैयाँ सामान्य चिकित्सा अध्ययन गराउन शुल्क लिने गरेका छन । तर गाउँपालिकाले एक लाख पन्चानब्बे हजारमै दुबै शिक्षा दिने निर्णय गरेको छ । किस्पाङ बहुप्राबिधिक शिक्षाकालयका लागि तत्कालका लागि ४२ कोठे छात्राबास भवन र २१ कोठाको कक्षाहरू रहेका छन ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार २०:२०