२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

सर्वसाधारण ठग्ने रिलायन्स स्पिनिङ मिल्सको योजनामा धक्का, आइपिओ निष्कासन प्रक्रिया रोकियो

२७ असार, काठमाडाैँ । प्राथमिक सेयर निष्कासन (आइपिओ) निष्कासन प्रक्रियामै सर्वसाधारण ठग्ने रिलायन्स स्पिनिङ मिल्सको योजनामा धक्का लागेको छ । रिलायन्स स्पिनिङ मिल्सले नियामक निकायलाई प्रभावित गरेर बुक बिल्डिङको बाटोबाट सर्वसधारण ठग्ने योजना बनाएको विषयमा अर्थ सरोकारले खुलासा गरेको थियो ।

संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेपछि समितिले रिलायन्स स्पिनिङ मिल्सका बारेमा नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई पत्राचार गरी जानकारी मागेको थियो । लेखाको उक्त पत्रपछि सेबोनले आइपिओ निष्कासन प्रक्रिया तत्काल रोकी जवाफको तयारी सुरू गरेको छ ।

मंगलबार संसद्को सार्वजनिक लेखा समितिले स्पष्टीकरण सोधेपछि बोर्डले बुधबार उक्त निष्कासन प्रक्रिया रोक्का गर्न रिलायन्सलाई पत्रचार गर्ने निर्णय गरेको हो । बोर्डका प्रवक्ता डा। नवराज अधिकारीले कम्पनीलाई आइपिओ निष्कासन प्रक्रिया रोक्का गर्न पत्राचार गरिसकेको जानकारी दिएका छन ।

 लेखा समितिले बुक बिल्डिङको मूल्य तय, रिलायन्सको वित्तीय विवरण, संस्थागत लगानीकर्ताले खरिद गरेको सेयर, लगानीको सुरक्षालगायत विषयमा सात दिनभित्र स्पष्टीकरण पठाउन निर्देशन दिएको छ । रिलायन्सले बुक बिल्डिङ विधिबाट प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न लागेको थियो ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार ०९:३५