२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

११ महिनामा खुम्बु क्षेत्रमा ५६ हजार पर्यटक, १३ करोड ६५ लाख राजस्व संकलन

२६ असार, सोलुखुम्बु । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् । गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार चार सय दुई जना विदेशी र सात हजार पाँच सय ७७ जना नेपाली छन् ।

यस वर्ष सबैभन्दा बढी वैशाखमा नौ हजार नौ सय ७६ जना र सबैभन्दा कम साउनमा दुई सय आठ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो । वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उहाँको भनाइ छ ।

चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले रु १३ करोड ६५ लाख सात सय राजस्व सङ्कलन गरेको छ । निकुञ्जले पर्यटक शुल्क बापत् नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग एक हजार पाँच सय र अन्य विदेशीबाट प्रतिव्यक्ति रु तीन हजार रुपैयाँ लिने गरेको छ । सो अवधिमा सात हजार पाँच सय ७७ नेपाली, छ हजार तीन सय आठ सार्क मुलुकका र ४२ हजार ९४अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार १८:५५