२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

हतियार देखाएर २४ घर र गुम्बामा लुटपाट गर्ने ३ जना पक्राउ, ५ जनाको खोजी हुँदै

२४ असार, काठमाडौँ । यार्सागुम्बा टिप्न गएको मौका पारेर लुटपाट गर्ने समूह हतियारसहित जिल्ला प्रहरी मुगुले पक्राउ गरेका छन् । मुगुको कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयलाई हतियार देखाएर उनीहरुले लुटपाट गरेको र गाउँबाट लुटेका सुन जुम्लामा बिक्री गरिसकेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

जुम्लाको गुठीचौर गाउँपालिका–३ का गणेश भण्डारी, पूर्णप्रसाद भण्डारी र वडा नम्बर ४ का कमल थापालाई पक्राउ गरिसकेको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले बताए । गत जेठ १२ गते राति ८ बजेतिर उनीहरु मास्क लगाएर गाउँ छिरेका र हतियार पड्काएर गाउँलेलाई तर्साउँदै  मुगुको डोल्फु गाउँमा पुगेर २४ घर र एक सार्वजनिक गुम्बामा लुटपाट गरेका थिए।

हतियारलाई उनीहरुले जुम्लाको पातारासी गाउँपालिका–३ स्थित चुकेकाँध भन्ने ठाउँको ओढारमा एसएलआरको पार्टपुर्जा अलग गरेर लुकाएको अवस्थामा बरामद गरिएको थापाले जानकारी दिए  ।

घटनामा अरु पाँच जनाको पनि प्रत्यक्ष संलग्नता रहेको खुलेको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार ११:५३