धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियालाई निरन्तरता दिन सर्वोच्चको आदेश
२१ असार, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियालाई निरन्तरता दिन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
सर्वाेच्चले गत असार १८ गते अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । शुक्रबार सोही मुद्दामा न्यायाधीश मल्ल र ढकालको संयुक्त इजालासले नियुक्ति प्रक्रियालाई निरन्तरता दिन आदेश दिएको हो ।
सर्टलिष्टमा परेका सन्तोष नारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने सरकारको निर्णयविरुद्द रिट दायर गरेका थिए । श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
अध्यक्ष छनोट समितिले पाँच जनामध्ये तीन जना अन्तार्वार्तामा नआएपछि प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । सर्टलिस्टमा परेका पाँचमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतिकरणका लागि उपस्थित भएका थिए ।
तर, बोर्डका अर्का कार्यकारी निर्देशक डा. नवराज अधिकारीसहित बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्तामा अनुपस्थित थिए । त्यसपछि सरकारले प्रक्रिया नै रद्द गरेको थियो ।
प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १३:५६