२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

रविलाल अधिकारीको सम्झनामा जनसाँस्कृतिक महासंघको कविता प्रतियोगिता


१९ असार, काठमाडाैँ । साहित्यकार प्रा डा रविलाल अधिकारीको ८० औँ जन्मजयन्तीमा राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश समितिले खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । अधिकारी महासंघको संस्थापक केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो ।

प्रतियोगितामा कास्कीका संयोग बस्याल प्रथम भएका छन् । बागलुङका गौतम मनिष द्वितीय, पर्वतका विवेक पराजुली तृतीय र पर्वतकै सजिना पौडेलले सान्त्वना स्थान प्राप्त गरे । प्रथम भएका बस्यालले ११ हजार एक सय ११ , द्वितीय भएका मनिषले आठ हजार आठ सय ८८, तृतीय पराजुलीले छ हजार छ सय ६६ र सान्त्वना पौडेलले चार हजार चार सय ४४ नगदका पुरस्कार र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगितामा ४३ जनाले कविता पठाएकोमा अन्तिम छनौटमा परेका २२ जनाले मात्र कविता वाचन गरेका थिए । प्रतियोगिताको निर्णायकमा प्रा। डा। जगन्नाथ रेग्मी , उप प्राध्यापक निर्मल सापकोटा र प्राज्ञ छन्दिका त्रिपाठी हुनुहुन्थ्यो । प्रमुख अतिथि नेकपा ९एमाले० स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री किरण गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले भूमिगतकालमा अधिकारीको घरमा आफूले पटक पटक सेल्टर लिएको र उहाँबाटै कला साहित्यप्रतिको आफ्नो रुचि निर्माण भएको स्मरण गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पनि साहित्यकार अधिकारीको कृतित्व र व्यक्तित्वको चर्चा गर्नुभएको थियो । प्रा डा रविलाल अधिकारीका छोरा हाल राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रदेशका प्रमुख समेत रहेका प्रमोद अधिकारीले बुवाका स्मृति ग्रन्थ प्रकाशनमा ल्याउने तयारीमा रहेको कार्यक्रममा जानकारी दिनुभएको थियो ।

महासंघ अध्यक्ष सुवास मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य महासंघ कास्की अध्यक्ष शिवहरि ढुंगाना, सञ्चालन गण्डकीका महासचिव छवि सुवेदीले गर्नुभएको थियो । विसं. २००२ साल असार १६ गते तत्कालीन लमजुङ जिल्लाको मिजुरेडाँडा गोर्जे हाल मादी गाउँपालिका वडा नं। ९ मा जन्मेका रविलाल अधिकारीको २०७९ फागुन १६ मा निधन भएको थियो । साहित्यकार अधिकारीको सम्झनामा महासंघले हरेक वर्ष खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने गर्दछ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार ११:४८