२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

भ्रष्टाचार समाजको नियति बनेकामा सांसदहरू चिन्तित


१८ असार, काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूले भ्रष्टाचार नेपाली समाजको नियति बनेकामा चिन्ता व्यक्त गरेका छन् । सङ्घीय संसद् सचिवालय मानव संसाधन विकास महाशाखाद्वारा आज यहाँ आयोजित ‘नेपालमा भ्रष्टाचारसम्बन्धी कानुनी व्यवस्थाः समस्या र सुझाव’ कार्यक्रका वक्ताले कानुन कार्यान्वयनको अवस्था, व्यावहारिकता र वर्तमानमा भइरहेका अभ्यासले कोही गम्भीर प्रकृतिका अनियमिततामा पनि उम्किने र कोही सामान्य त्रुटिका कारण जीवनभर अप्ठेरोमा परेका दृष्टान्त सुनाउनुभयो ।

केही वक्ताले विद्यालय पाठ्यक्रमबाट नैतिक शिक्षा हटाइएपछि भ्रष्टाचार अझ मौलाएको बताउनुभयो । सांसद रञ्जुकुमारी झाले कानुन निर्माणको जिम्मेवारीमा रहेका सांसद सदनमा अनुपस्थित हुनु पनि भ्रष्टाचारकै एउटा रुप भएको तर्क गर्नुभयो ।

अर्का सांसद नारायणी शर्माले पहुँच र प्रभावका आधारमा मुद्दाको छिनोफानो हुने आम बुझाइ रहेको बताउनुभयो । सांसद रणेन्द्र बराइलीले भ्रष्टाचारमा संलग्नमाथि भएका कारबाही र उन्मुक्तिको अवस्था विश्लेषण गर्दा यो वर्गीय, सत्तापक्ष र प्रतिपक्षमा विभाजित देखिएकाले राज्य सञ्चालकलाई प्रशिक्षण आवश्यक रहेको बताउनुभयो ।

अर्का सांसद उर्मिला माझीले भ्रष्टाचार समाजको शत्रु भएकोले त्यसलाई घटाउन कठिन छ भन्नुभयोे । प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्माले भ्रष्टाचार व्यक्तिको आचरणसँग सम्बन्धित भएकाले कानुनभन्दामाथि कोही छैन भन्ने संस्कार स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद दीपा शर्माले देशमा भ्रष्टाचार मौलाएकामा चिन्ता व्यक्त गर्नुभयो । सांसद किरण साहले राजनीतिक हस्तक्षेप र कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा भ्रष्टाचार बढेको बताउनुभयो । त्यस अवसरमा नेपाल ल क्याम्पसका सहप्राध्यापक बलरामप्रसाद राउतले दण्ड वा जरिवाना बढाउँदैमा भ्रष्टाचार घट्ने वा बढ्ने नभई  भ्रष्टाचार नगर्ने मानसिकताको विकास गर्नेतर्फ समाज जागरुक हुनुपर्नेमा जोड दिनुभयो । सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काले भ्रष्टाचार नियन्त्रणका लागि कानुनलाई समयानुकूल तुल्याउन जनप्रतिनिधिले कानुन निर्माणका बखत ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार १९:४२