२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

कोइरालाको जन्मजयन्तीमा कांग्रेसका सभापति देउवाले गर्‍यो ऐतिहासिक फोटो प्रदर्शनीकाे उद्घाटन


१८ असार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा तस्बिर प्रदर्शनी सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित प्रदर्शनीमा कोइरालाको जीवनका महत्वपूर्ण तस्बिर राखिएका छन् । उहाँको सक्रिय राजनीतिक जीवनकालमा विभिन्न फोटो पत्रकारले खिचेका तस्बिर प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीको उद्घाटन कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुभयो ।

प्रदर्शनीमा एक सय ५१ भन्दा बढी तस्बिर राखिएका छन् । केन्द्रीय कार्यालयको सभाहलमा जारी प्रदर्शनीमा विसं २००७ पहिलेका, कोइराला र उहाँका सहकर्मी नेतासँगका तस्बिरहरु छन् । प्रदर्शित तस्बिरले क्रान्ति, शान्ति तथा विकास निर्माण र द्वन्द्वपछि शान्ति प्रक्रियाको चरण गरी तीन अवस्थाबारे प्रतिविम्बित गरेका छन् । शान्ति तथा विकास निर्माणको चरण, नेपालको अर्थतन्त्र र कांग्रेसले चाहेको विकास ‘मोडल’का बारेमा तस्बिरले प्रष्ट पार्ने विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । तस्बिर प्रदर्शनीको साथमा  विमर्शसभा र वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।

विसं २०६३ माघ १ गतेदेखि २०६५ साउन ८ गतेसम्म राष्ट्रप्रमुखको जिम्मेवारी निर्वाह गर्नुभएका स्व कोइराला २०४८ सालदेखि २०६५ सालसम्म चारपटक प्रधानमन्त्री हुनुभएको थियो । विसं २००४ मा विराटनगरमा भएको मजदुर आन्दोलनमार्फत राजनीतिमा जोडिनुभएका कोइराला विसं २०५३ वैशाख २९ गतेदेखि २०६६ चैत ७ गतेसम्म कांग्रेसको पाँचौँ सभापतिको जिम्मेवारीमा रहनुभएको थियो । विसं १९८१ असार १८ गते जन्मिनुभएका उहाँको २०६६ साल चैत ७ गते निधन भएको थियो ।

उहाँले क्रान्तिदेखि शान्ति प्रक्रियामा पुर्याउनुभएको योगदान वर्तमान र भावी पुस्तालाई जानकारी गराउने उद्देश्यले तस्बिर प्रदर्शनी गरिएको विभागले जनाएको छ । प्रदर्शनी आज साँझसम्म रहने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार १८:०४