२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

फुस्रेखोला देउरालीको सडक सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न


१८ असार, काठमाडौँ । आर्थिक वर्ष २०७३र७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङजाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ ।

यस क्षेत्रको समृद्धिसँग जोडिएको आयोजना सुस्त गतिमा अगाडि बढ्दा स्थानीयवासी निराश छन् । सडक अनुगमन समितिका सदस्यसमेत रहनुभएका स्थानीय राजकुमार गुरुङले सडक निर्माणमा स्थानीय बासिन्दाको सहयोग हुँदासमेत सरकारीस्तर र निर्माण व्यवसायीका कारण ढिलासुस्ती भएको गुनासो गर्नुभयो । “यो सडक यस क्षेत्रको समृद्धिसँग जोडिएको छ । हामीले छिटो निर्माणका लागि दबाद दिँदासमेत निर्माणकार्यले गतिलिन सकेको छैन । त्यसैले तत्काल कामलाई तीब्रता दिन हाम्रो आग्रह छ”, उहाँले भन्नुभयो ।

सङ्घीय सरकारले सुरु गरेको उक्त आयोजना तीन वर्षअघि गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । कूल १३ दशमलव चार किलोमिटर सडक निर्माणका लागि रु ३१ करोडमा सिरुवा श्यामश्याम जेभी काठमाडौँले ठेक्का पाएको छ । पूर्वाधार विकास कार्यालयका कन्सल्टेण्ट इञ्जिनियर धनप्रसाद सुवेदीले एकतर्फी पक्की नालासहितको सडक तोकिएको समयमा सम्पन्न नहुँदा पटक–पटक समय थप गरिएको बताउनुभयो ।

पछिल्लोपटक २०८१ सालभित्र कार्यसम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । सम्झौताअनुसार तीन सय मिटर ढलान र सबै सडक कालोपत्र गरिने योजना छ । “समयमा रकम निकासा र निर्माण व्यवसायीको दृढ इच्छाशक्ति हुने हो भने आगामी एक वर्षभित्र बाटो निर्माण सम्पन्न हुनेछ । त्यसका लागि हामीले पनि दबाब दिइरहेका छौँ”, इ सुवेदीको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार १४:०९