१९ असार २०८१, बुधबार | Thu Jul 4 2024

कांग्रेस र एमाले सत्ता सहकार्यको सहमति, ओली शितल निवासमा


१७ असार, काठमाडौँ । केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति भएको छ । विनोद चौधरीको होटल भिभान्तामा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस नेता रमेश लेखकले बनाएको सहमतिको खाकामा एमाले अध्यक्ष ओलीको निवास बालकोटमा सहमति जुटेपछि अहिले एमाले अध्यक्ष ओलीसहितका नेता राष्ट्रपति भवन शितल निवास पुगेका छन भने वुढानिलकण्ठबाट कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू पनि शितल निवास पुगेछन ।

भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले महासचिव शंकर पोखरेल, कानुनमन्त्री पदम गिरी सहभागी थिए । त्यस्तै नेताहरू रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की पनि सहभागी रहेका थिए । भेटमा राष्ट्रपति पौडेलसंग नयाँ सरकार गठन प्रक्रियाको बारेमा छलफल भएको बुझिएको छ ।

संविधान संशोधनसहित विभिन्न विषयमा सहमति गरेर दुई दलले सत्ता सहकार्यको निर्णय लिएका हुन। उद्योगपति विनोद चौधरीको भिभान्ता होटलमा तयार भएको सहमतिमा दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति छ । उक्त सहमतिमा एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय पाउने सहमति छ ।

साथै उनीहरूले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा आयोग बनाउने सहमति समेत भएको छ । दुबै दलको बीचमा प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने देखि उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्षको भूमिका दिनेसहितका विषयमा सहमति  भएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ००:००