१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

मन्त्रिपरिषद् बैठकमा प्रचण्डः गठबन्धन लामै समय जान्छ, कांग्रेस-एमाले मिल्ने सम्भावना छैन


१७ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो गठबन्धन लामै समय जाने बताएका छन । मन्त्रिपरिषद् बैठकमा समयसामयिक राजनीतिक घटनाक्रमको बारेमा ब्रिफिङ गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार तत्काल नढल्ने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरूलाई आग्रह गरेका छन् ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले पत्रकारसँग भनिन्, ‘प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयको ब्रिफिङ गर्नुभयो । ओली र प्रधानमन्त्रीको छलफल भएको छ । बाहिर असमझदारी बढ्यो भनेर आएका कुरा असत्य हुन् यो गठबन्धन लामै समय जाने जानकारी गराउनुभएको छ ।’

प्रचण्डले मन्त्रिपरिषद् बैठकमा कांग्रेस एमाले मिल्ने सम्भावना नै नरहेको दाबी गरेका थिए । सञ्चारमन्त्री शर्माले अहिले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको पनि जिकिर गरिन् ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा प्रचण्डले सरकार परिवर्तनको हल्ला निराधार भएको दाबी गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिवार भएको भेटपछि दुई दलबीच नयाँ समीकरण बनाएर जाने समझदारी भएको कांग्रेस नेताहरूले बताएका छन ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १९:०८