१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

मुख्यसचिव, न्यायाधीश र धितोपत्र बोर्डको अध्यक्षमै कुरा मिल्छ कि नयाँ गठबन्धन बन्छ ?


१७ असार, काठमाडौँ । भागवण्डा नमिल्दा वर्तमान सत्ता गठबन्धन करिब दुर्घटनाको डिलमा पुगेको छ । कतिपयले नेकपा एमालेले सरकारको नेतृत्व गर्ने गरी कांग्रेससहितको गठबन्धन बन्ने र त्यसमा सहमति भैसकेको बताएका छन । केही समयदेखि नेकपा एमाले र कांग्रेसका दोस्रो तहका नेताहरू निरन्तर सम्पर्कमा रहेको र साना दलहरूको गतिबिधि रोक्नुपर्नेमा एकमत बनेको भनेर केही दिनअघि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक टेलिभिजन अन्तरवार्तामा बताएका थिए ।

महामन्त्री थापाले भुषण दाहालसँगको अन्तरवार्तामा भनेको कुरालाई पुष्टि गर्दै शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा तीन घण्टा छलफलमा जुटे । उक्त छलफलमा देउवाको सत्ता सहकार्यको प्रस्ताव स्वीकार गर्दै ओलीले पनि छलफल अघि बढाएका छन । यद्यपी अहिलेसम्म नेकपा एमाले सत्तामा रहेको र प्रधानमन्त्रीसँग पनि छटलफलमै रहेकाले नयाँ गठबन्धन बनिहाल्छ भनेर भन्न सक्ने परिस्थिति छैन् ।

एमाले र कांग्रेस मिलेर सरकार चलाउनुपर्छ भनेर लागि परेका केहीले भोलिसम्म नयाँ सरकारको सपथ हुने दाबी गरिरहेका छन । उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई काठमाडौँ नछाड्न निर्देशन दिएको दाबी गर्छन । उनीहरूले नयाँ गठबन्धन र सरकार बन्ने भएकाले ओलीले यस्तो निर्देशन दिएको र सत्ता सहकार्यको खाका प्रदेशसम्मकै फाइनल भैसकेको दाबी गरेका छन ।

यता सोमबार बिहान बालुवाटारको बार्दलीमा प्रचण्डसँग तीन घण्टा बिताएका ओलीले प्रधानमन्त्रीसँग यही गठबन्धन र सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको र सरकारलाई अझै प्रभावकारी बनाउने विषयमा सहमति गरेको दाबी गरेका छन । बालुवाटार निकट स्रोतले यही गठबन्धन प्रभावकारी बनाएर जान एमाले अध्यक्ष ओली सकारात्मक रहेको दाबी गरेका छन ।

dainiki.com

बालुवाटार स्रोतले ओलीले अहिले समीकरणमा कुनै समस्या नआउने भन्दै प्रचण्डलाई आवश्वस्त रहन आग्रह गरेको दाबी गरेको छ । भेटमा दुई शीर्ष नेताहरुले नयाँ गठबन्धनका बारेमा कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको दाबी गरेका छन ।

भागवण्डाले बढेको तिक्तता 

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत माओवादी निकटका गोरखाका देवेन्द्ररमण खनाल नियुक्त भएपछि एमालेले धितोपत्र बोर्डको अध्यक्षमा आफ्नो उम्मेदवारले नियुक्ति पाउने अपेक्षा राखेको थियो । त्यसका निम्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले कुरा पनि गरेको थियो  । तर अर्थमन्त्रालयले विचौलिया दीपक भट्टको प्रतिनिधिको रूपमा धितोपत्र बोर्डको अध्यक्ष नबनाउने भन्दै आफ्ना निकटका प्रतिस्पर्धीलाई अन्तरवार्तामै जान दिएन । जसका कारण महान्यायाधीवक्ताको राय लिएर नियुक्ति प्रक्रिया नै रद्द गर्यो ।

सर्वोच्चमा न्यायाधीश नियुक्ति गर्ने विषयमा पनि माओवादी र एमालेकोबीचमा मतभेद चुलियो । अझै पछिल्लो समय मुख्यसचिव नियुक्तिको विषयमा ओली र प्रचण्डको बीचमा मतभेद बढेको स्रोतहरूले बताएका छन । एमालेले गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिव बनाउन प्रस्ताव गरेको छ भने माओवादीले आफ्नै निकटलाई बनाउने अडान राखेको छ । यद्यपी ओली र प्रचण्डबीचको सोमबार बिहानको तीन घण्टाको छलफलमा यी विषयहरूमा सहमतिको खाका बनेको बालुवाटार स्रोतले बताएको छ ।

कांग्रेसको निर्णयले सत्ताको भविष्यबारे थप निर्णय हुने 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको नेपाली कांग्रेसले पदाधिकारी बैठकबाट त्यसलाई अनुमोदन गर्ने बताएको छ । सोमबार अपरान्ह बस्ने कांग्रेसको पादधिकारीको बैठकले ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अनुमोदन गरे भोलि साँझसम्ममा नयाँ  सरकार बन्छ भन्नेहरूको तर्कले जित्नेछ । यद्यपी ओली प्रचण्डको बीचमा भएको कुराकानी र सहमति नतोडिए यही गठबन्धन अघि बढ्नेछ । त्यसका लागि भने समयको प्रतिक्षा गर्नुको विकल्छ छैन ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १५:४५