१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द, सामुदायिक वन बाह्रैमहिना सञ्चालनमा


१७ असार, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द भएपनि पर्यटकीय गतिविधि बन्द भएको छैन । बर्षातका बेला निकुञ्जका केही पर्यटकीय गतिविधि बन्द गरिए पनि जीप सफारी बाहेकका सबै गतिविधि सञ्चालनमै छन् ।

क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष सुमन घिमिरेका अनुसार अहिले सौराहा आउने पर्यटकका लागि कुनै पर्यटकीय गतिविधि रोकिएको छैन । निकुञ्जभित्र जङ्गल‘वाक’, डुङ्गा सयर भइरहेका छन् ।

उहाँका अनुसार सौराहाको कुमरोज, बाघमारा, चित्रसेन मध्यवर्ती सामुदायिक वनमा आउने पर्यटकका लागि पर्यटकीय गतिविधि भइरहेका छन् । कुमरोजमा जीप सफारी सञ्चालनमा छ । बाघमारा र चित्रसेनमा हात्ती सफारी भइरहेका छन् । डुङ्गा सफारी जनकौली, बाघमारा र चित्रसेनमा भइरहेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको भित्री भागमा हुने जङ्गल सफारी बाहेक अन्य कुनै गतिविधि रोकिएका छैनन् । निकुञ्जको कोर क्षेत्र बाहिरका मध्यवर्ती सामुदायिक वनमा सधैँ हात्ती, जीप, डुङ्गा सफारी हुने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “निकुञ्ज भित्रको जीप सफारी मात्रै रोकिँदा पर्यटकीय गतिविधिमा ठूलो असर पर्दैन ।” पूर्वी चितवन, पश्चिम चितवन, माडी, नवलपरासीलगायतका निकुञ्जका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि नरोकिने उहाँले बताउनुभयो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार निकुञ्जभित्रसमेत् वर्षात्को समयमा जीप सफारी बाहेक जङ्गल ‘वाक’, डुङ्गा सयरलगायतका गतिविधि हुने गर्दछन् ।

यतिबेला पर्यटक कम हुने हुँदा दैनिक १० वटा हात्ती सफारी हुने गरेको उहाँले बताउनुभयो । उहाँहरुको सहकारीमा ३० वटा हात्ती छन् । खतिवडाले भन्नुभयो “वर्षात्को समय भए पनि पर्यटकीय गतिविधि नरोकिने भएकाले स्वदेश र विदेशका पर्यटकलाई यो सन्देश पुर्याउन जरुरी छ ।” बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतवहादुर तामाङ्का अनुसार बाघमारामा यो वर्ष एक लाख ५० हजारभन्दा बढी पर्यटकले वनक्षेत्र घुमेका छन् । हात्ती र डुङ्गा सफारीसँगै मचानमा रात बिताउनेको सङ्ख्या धेरै छ ।

चितवन राष्ट्रिय निकुञ्ज जङ्गल सफारीका लागि प्रख्यात छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा  पाइने दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघलगायतका वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् । निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा निकुञ्जमा जस्तै दुर्लभ वन्यजन्तु हेर्न पाइन्छ । पर्यटकले वनभित्र प्रवेश गर्दा निकुञ्ज हो या मध्यवर्ती हो भन्ने ठम्याउन मुस्किल पर्छ  । एकै खालको वन र वन्यजन्तु हुने भएकाले सामुदायिक वनमा हुने पर्यटकीय गतिविधिले पर्यटकलाई भरपुर मनोरञ्जन दिने क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष दीपक भट्टराई बताउनुहुन्छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १२:१७