१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

श्रमाधान रोजगार मेलामा १७ हजार ९२१ जनाले दिए रोजगारीको लागि आवेदन


१६ असार, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्यांक सार्वजनिक गरेको हो ।

मन्त्रालयका सह सचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले ४१ हजार ३२५ जनाले मेलाको अवलोकन गरेको तथ्यांक सार्वजनिक गर्नुभयो । त्यस्तै, रोजगारदाताबाट १४ हजार ७८८ श्रमिकको माग भएको छ । मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्र सहितका ३२२ वटा स्टल राखिएको प्रवक्ता रिजालले बताउनुभयो ।

मेला विभिन्न शिर्षकमा ३६ वटा कार्यशाला पनि सञ्चालन गरिएको थियो । संघिय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी ३३५ संघ संस्थाहरुसँग सहकार्य गरिएको मेलाका संयोजक समेत रहेका रिजालले बताउनुभयो । उहाँका अनुसार मेलाको कुल बजेट ९३ लाख ६ हजार ९६३ रहेकोमा ८५ लाख ३३ हजार ८६५ रुपैयाँ खर्च भएको छ ।

आठ उत्कृष्ट उद्यमी पुरस्कृत

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर मुलुकमा नै उद्यम गरी रहेका आठ उत्कृष्ट उद्यमीलाई पुरुस्कृत गरेको छ । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रम बीच उत्कृष्ट उद्यमीलाई मन्त्रालय नगद सहित सम्मान गरेको हो ।

वैदेशिक रोजगारीबाट फर्केका युुवालाई मुलुकमा नै रोजगारीका अवसरहरु सृजना गर्न प्रेरित गर्नका लागि मन्त्रालयले प्रत्येक बर्ष वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरुलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ ।राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि उद्यमीलाई सार्वजनिक रुपमा नै आवेदनको माग गरिएको थियो । इमेल मार्फत ८९ जना उद्यमीले पुरस्कारको लागि आवेदन दिएका थिए ।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिश समितिले उद्यमीको स्थलगत निरिक्षण गरेको थियो । निरिक्षणबाट प्राप्त प्रतिवेदनहरुको आधारमा सम्भव भएसम्मका सातवटै प्रदेशको प्रतिनिधित्व कायम गर्ने गरी ८ जना उद्यमी राष्ट्रिय पुरस्कार विरतण गरिएको हो ।

झापाका चन्द्रप्रसाद बस्नेतले उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ । पुरस्कार वापत एक लाख ५० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । गुल्मीका रविलाल पन्थ, झापाका मोहन प्रसाद संग्रौला, जुम्लाका टक्क बहादुर नेपाली, कन्चनपुरका चन्द्र सिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भुपेन्द्र शर्मा र बाराका हिराबहादुर थापाले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ। पुरस्कार वापत ७५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ । उद्यमीलाई सम्मान गर्दै श्रममन्त्री डिपी अर्यालले एक पटक वैदेशिक रोजगारीमा गएर फर्केका युवालाई मुलुक भित्रै रहने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

प्रकाशित मिति : १६ असार २०८१, आईतवार १७:२६