१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

बालकोटको दही खाएर ओलीलाई प्रधानमन्त्रीको अफर गरेका देउवाले बोलाए कांग्रेस बैठक


१६ असार, काठमाडौँ । प्रधानमन्त्रीको अफर बोकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएको देउवाले सोमबार दिउँसोका लागि नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बोलाउनुभएको हो ।

असार १५ को दहिच्यूरा खाने कार्यक्रमको अवसर पारेर देउवा शनिबार बालकोट पुग्नुभएको थियो । बालकोटको दहिच्यूरासँगै देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेको कुरा कांग्रेसको नेताहरूको बीचबाट चुहिएको छ । यद्यपी एमालेका नेताहरूले यस कुरा अस्वीकार गरेका छन । उनीहरूले तीन दहिच्यूरा र अन्य राष्ट्रिय सवालका छलफल भएको दाबी गरेका छन ।

यता नेकपा माओवादी केन्द्रका नेताहरूले शनिबार तीन घण्टासम्म ओली र देउवाले दहिच्यूरामात्र खाएरको बसेको भन्ने कुरामा शंका व्यक्त गरेका छन । सत्ताका चतुर खेलाडी भनेर समाजमा फरक पहिचान बनाउनुभएका ओली र देउवा पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चतुर्याइँको शिकार भैरहनुभएको छ । उहाँहरूको बीचमा भएका छलफलको कुरा आकारसहित केही बाहिर नआएको भए पनि कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीकै बैठक बोलाएपछि भने सत्ता राजनीतिमा फेरि नयाँ घटना लागेको अनुमान गरिएको छ ।

कांग्रेसले बोलाएको बैठकमा पछिल्लो समसामयिक राजनीति, केन्द्रीय समिति बैठक, भातृ संगठनका पछिल्लो अवस्थाबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेले बताउनुभएको छ । ओली र देउवाको भेटपछि आइतबार बिहान ओली र प्रचण्डकोबीचमा समेत कुराकानी भएको छ । कुराकानीमा प्रधानमन्त्री प्रचण्डले शनिबारको देउवासँगको भेटकाबारेमा चासो राखेको र ओलीले दहिच्यूराका लागि निम्तो दिएको बताउनुभएको बुझिएको छ ।

एमालेका कतिपय नेताहरूले भने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर अमेरिका लैजाने गिरोहका बारेमा पुनः अनुसन्धान गर्न लागेको र त्यसमा देउवा पत्नी आरजु पनि पक्राउ पर्ने सम्भावना रहेको सूचना प्रहरी अधिकृतहरू मार्फत देउवा निवास पुगेकाले रविलाई सम्झाइ दिन भन्दै देउवा बालकोट पुग्नुभएको बताएका छन ।

प्रकाशित मिति : १६ असार २०८१, आईतवार १६:५६