१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

संसदीय छानबिन समितिले माग्यो २० समस्याग्रस्त सहकारीको कागजात


१६ असार, काठमाडौँ । संसदीय छानबिन विशेष समितिले अनुसूची– १ मा समावेश २० वटा सहकारीसम्बन्धी कागजात उपलब्ध गराउन सम्बन्धित निकायहरूमा पत्राचार गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको समितिको सातौं बैठकले अनुसूची– १ मा उल्लेख भएका २० वटा सहकारीसम्बन्धी कागजात माग गर्ने निर्णय गरेको हो ।’ समितिले आइतबार विज्ञहरूलाई बोलाएर सुझाव समेत लिएको छ ।

सहकारी अध्ययन समिति, २०६१ का डा. युवराज खतिवडा, समस्याग्रस्त सहकारी जाँचबुझ आयोग, २०७० का गौरीबहादुर कार्की र सहकारी अध्ययन कार्यदल, २०४७ का राधाकृष्ण मैनालीलाई समितिमा बोलाएर सुझाव लिइएको स‌ंयोजक सूर्य थापाले जानकारी दिनुभयाे ।

थापाले भन्नुभयाे, ‘उहाँहरू तीनैजनाले सहकारीसम्बन्धी आ-आफ्ना अध्ययनका महत्त्वपूर्ण निष्कर्षहरूसमेत राख्नुभयो र हालको संकट तथा सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा महत्त्वपूर्ण सुझावहरू उपलब्ध गराउनुभएको छ।’

अनुसूची– १ मा समावेश २० वटा सहकारी उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी होइनन् । लामिछाने जोडिएकासहित ९ सहकारीलाई अनुसूची २ मा राखिएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आईतवार १६:५१