१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

चलचित्र निर्देशक अरुणकुमार प्रधानले प्रश्न सोध्ने पत्रकार कुटे


१६ असार, काठमाडाैँ । पत्रकार विकल श्रेष्ठमाथि नेपाल चलचित्रकर्मी महासङ्घ कोसी प्रदेशका अध्यक्ष तथा चलचित्र निर्देशक अरुण कुमार प्रधानले अभद्र व्यवहारसहित हातपात गरेपछि चलचित्र पत्रकार सङ्घ नेपालको केन्द्रीय समितिले आपत्ति जनाएको छ। महासचिव रघुनाथ सापकोटाले एक विज्ञप्ति प्रकाशित गर्दै दोषी माथि कडा भन्दा कडा कारबाही गर्न माग गर्नुभएको छ ।

त्यस्तै, चलचित्र पत्रकार सङ्घ नेपाल कोसी प्रदेश समिति सहित झापा शाखा, इलाम शाखा, सुनसरी शाखा र मोरङ शाखाले पनि पत्रकार कुटेको घटनाप्रति ध्यानाकर्षण गराएका छन्।

चलचित्र पत्रकार सङ्घ कोसी प्रदेश शाखाका सह सचिव समेत रहनुभएका श्रेष्ठले बिहीबार राती करिब ९ बजेको समयमा विराटनगरमा अवस्थित सिटी सिनेमा हलमा एक फिल्मको कार्यक्रम पछि प्रधानसँग अन्तर्वार्ता लिने क्रममा प्रश्न सोधेकै आधारमा प्रधानको श्रीमतीले आपत्ति जनाएपछि भनाभन भएको प्रत्यक्षदर्शीले बताएका छन । सो घटनाको भिडियो पत्रकार श्रेष्ठले सार्वजनिक गर्नुभएको छ । सिसिटिभी फुटेजमा प्रधानले पत्रकार श्रेष्ठलाई हातपात गरेको देखिन्छ भने अन्यले छुट्टाउन खोज्दा पनि बारम्बार आक्रमण गरिरहेको देखिन्छ।

पत्रकार श्रेष्ठ अन्तर्वार्ताका क्रममा समसामयिक प्रश्न सोध्नुभएको थियो । प्रश्नहरू सोध्ने क्रममा प्रसङ्गवश कोसी प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालय आयोजक भएर केहीअघि सम्पन्न गरिएको ‘चलचित्र महोत्सव’को बारेमा प्रश्नहरू गरेकोप्रति आफूमाथि भौतिक आक्रमण भएको पत्रकार श्रेष्ठको भनाई छ।

चलचित्र महोत्सवको व्यवस्थापकको रूपमा नेपाल चलचित्रकर्मी महासङ्घ र नेपाल चलचित्रकर्मी सङ्घ रहेको थियो। यी २ सङ्घबिच सो महोत्सव र यसको बजेट बाँडफाँडका विषयलगायत दुई संस्थाबिचको विवादको विषय लगायतको प्रश्न आफूले सोधेको श्रेष्ठले बताउनुभएको छ। प्रश्नको प्रतिकारमा प्रधानको श्रीमती उत्रिएको र यो घटना घटेको पत्रकार श्रेष्ठले बताउनुभएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आईतवार ०८:५६