१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

ललितपुरकाे नक्खु खोलामा पक्की पुल निर्माण


१५ असार, काठमाडौँ । ललितपुर महानगरले आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण गरेको छ ।

पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै निर्धारित समयभन्दा पाँच महिनाअघि नै समाप्त भएको बताउनुभयो ।

महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट धापाखेल र ठेचोवासीलाई  प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । “कृषक, शिक्षक, विद्यार्थीलाई विशेष लाभ मिल्नेछ, यसले आर्थिक– सामाजिक रूपमा स्थानीयलाई समृद्ध बनाउन सघाउने छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा वडा नं २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नं २६ का अध्यक्ष सुरेश महर्जन र वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणामस्वरुप निर्धारित समय अगावै पुल सम्पन्न भएको बताउनुभयो । उहाँहरूले निर्माण कम्पनीको लगन र इमानदारीप्रति आभार व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार १३:३०