१६ असार २०८१, आईतवार | Mon Jul 1 2024

मदन भण्डारीको ७३ औँ जन्मजयन्तीमा ‘एक युवा पाँच बिरुवा’ अभियान


१४ असार, काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालले मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा ‘एक युवा पाँच बिरुवा’ अभियान सञ्चालन गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीमा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभयो । उहाँले वातावरण सन्तुलन राख्न बोटबिरुवा लगाउनुपर्ने बताउँदै यस अभियानमा सबै सहभागी हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्घका महासचिव सुमन पुरीले आगामी साउन १४ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । सात सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाउँदै उहाँले अभियानमा करिब तीन लाख बोटबिरुवा रोप्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले युवा सङ्घका केन्द्रीय कमिटी सदस्य प्रत्येकले पाँचवटा बिरुवा रोप्नुपर्ने भन्दै त्यसको संरक्षण गर्ने जिम्मा पनि दिइएको बताउनुभयो ।

वृक्षरोपण कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेता सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार १५:५१