१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

‘हामी सक्छौ, हामी गर्छौ’ भन्ने नारासहित कपाल काट्ने सीप सिक्दै विद्यार्थीहरू


१४ असार, म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित प्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरुले कपाल काट्ने सीप सिक्न थालेका छन् । बेनी नगरपालिकाले विद्यालय तहबाटै विद्यार्थीहरुलाई जीवन उपयोगी सीप सिकाउन सञ्चालन गरेको ‘विइ क्यान विइ डु’ (‘हामी सक्छौ, हामी गर्छौ’) कार्यक्रम अन्तर्गत प्रकाश माविले कपाल काट्ने तालिम सञ्चालन गरेको छ ।

विद्यालयका कक्षा ७ देखि १० सम्मका ३० जना विद्यार्थीहरु सहभागी तालिम एक महिनासम्म सञ्चालन हुनेछ । तालिममा विद्यार्थीहरुलाई कागज काटेर कैँची चलाउन सुरु गरिएकोमा १० दिनको अवधिमा विद्यार्थीहरु कपाल काट्न सिपालु भैसकेका छन् । नियमित पठनपाठन पश्चात साँझको समयमा दैनिक दुई घण्टा कपाल काट्ने तालिम सिकेका विद्यार्थीहरुलाई अहिले विद्यालयकै विद्यार्थीहरुको कपाल काटेर अभ्यस्त गराउन थालिएको विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालले जानकारी दिनुभयो ।

विद्यालय सञ्चालन हुने दिनमा साँझ र विदाको दिनमा अन्य समयमा समेत विद्यार्थीहरु कपाल काट्ने तालिममा सहभागी हुने गरेका छन् । सुरुवातमा कैँची समाउन र चलाउन समेत कठिन मान्ने विद्यार्थीहरु विस्तारै कपाल काट्न पोख्त भैसकेका छन् । तालिममा विद्यार्थीहरुलाई अभिषेक श्रेष्ठले कपाल काट्ने सीपबारे व्यवहारिक ज्ञान, सीप र क्षमताको विकास गराउनुभएको छ ।

अहिले १० कक्षा सम्मका बालबालिकाहरुले कपाल काट्न सीप सिकेका छन् । विद्यालयले कक्षा ११ र १२ का विद्यार्थीलाई पनि छिटै यो तालिममा सहभागी गराउने तयारी गरेको छ । तालिममा सहभागी हुने धेरै विद्यार्थीहरुको रुचिका आधारमा कपाल काट्ने तालिम सञ्चालन गरेकोमा अधिकाँशमा सीप विकास भएको पाइएको विद्यालयले जनाएको छ । तालिममा अधिकाँश छात्राहरु सहभागी भएका छन् । भविश्यमा व्युटिसियन बन्ने लक्ष्य रहेकाले छात्राहरुलाइ कपाल काट्ने सीप उपयोगी बन्ने अपेक्षा गरेका छन् । विद्यालयमा पढाइमात्रै हुने गरेकोमा पछिल्लो समय सीप सम्बन्धी कार्यक्रमहरु पनि हुन थालेपछि विद्यार्थीहरु उत्साहित बनेका छन् ।

यस विद्यालयले गत बर्ष विद्यार्थीहरुलाई नौमती पञ्चेबाजा बजाउने तालिम प्रदान गरेको थियो । उक्त तालिममा सहभागी विद्यार्थीहरु बाजा बजाउन सिपालु भएका थिए । विद्यालयमा नियमित पठनपाठनका अतिरिक्त उनीहरुका रुचि र क्षमताको पहिचान र दक्षता विकास गराउन विद्यालयले सिपमुलक कार्यक्रमहरुलाई अघि बढाएको प्रअ हमालले जानकारी दिनुभयो । आगामी बर्ष विद्यालयले व्युटिसियन तालिम दिने तयारी गरेको छ ।

बेनी नगरपालिकाभित्र रहेका १६ वटा सामुदायिक माध्यमिक विद्यालयलाई नगरपालिकाले सिपमुलक तालिम सञ्चालन गर्नका लागि चालु आर्थिक बर्षमा रु १÷१ लाखका दरले बजेट उपलब्ध गराएको छ । म्याग्दीको स्थानीय बजारमा कपाल काट्ने पेसामा अधिकाँश भारतीय नागरिकहरु संलग्न छन् । आकर्षक आम्दानी हुने भएपनि यो पेशामा स्थानीय जनशक्ति नभएको अवस्थामा विद्यालयले सञ्चालन गरेको तालिमले भविश्यमा स्थानीयले नै कपाल काट्ने पेसा अंगालेर स्वरोजगार बन्ने अवसर पाउने नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । उहाँका अनुसार, यस बर्ष नगरपालिकाले सञ्चालन गरेको ‘विइ क्यान विइ डु’ कार्यक्रम अन्तर्गत पेन्टिङ, पलम्बीङ, वायरिङ, कपाल काट्ने लगायतका सीपमुलक तालिम प्रदान गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार ११:०३