१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

नुवाकोटका कांग्रेस नेता गोविन्दप्रसाद जम्कट्टेलको निधन


१४ असार, नुवाकोट । नुवाकोटका नेपाली कांग्रेसका नेता गोविन्दप्रसाद जम्कट्टेलको निधन भएको छ । अर्बुद रोगबाट ग्रस्त रहनुभएको उहाँको गएराति निधन भएको परिवारले जनाएको छ । त्रिवि शिक्षण अस्पतालले दुई महिनादेखि उपचार गराइरहनुभएका जम्मकट्टेलको बिहीबार राति ११ बजे अस्पतालमै निधन भएको हो ।

राजनीतिसँगै सामाजिक काममा सक्रिय जम्मकट्टेल बेलकोटगढी नगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा हुनुहुन्थ्यो । उहाँले २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा प्रतिस्पर्धा समेत गर्नुभएको थियो ।

जम्कट्टेलको गएराति नै पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको नेपाली कांग्रेसका नेता सुशील भट्टले जानकारी दिनुभयो । उहाँको काजकिरियो काम भने बेलकोटगढी १० मा रहेको घरमै हुने परिवारले जनाएको छ ।

स्वर्गीय जम्कट्टेलको श्रीमति, तीन छोरा र एक छोरी हुनुहुन्छ । जेठो छोरा दामोदर बैंकर, माइलो छोरा रमेश पत्रकार र कान्छो दिने कृषि विज्ञ हुनुहुन्छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार ०८:४०