१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगमा दोस्रो कार्यकालका लागि मञ्जु खड्का नियुक्त

१२ असार, एडिलेड । साउथ अष्ट्रेलियाको महत्वपूर्ण बहुसांस्कृतिक आयोगको सदस्यमा नेपाली सामाजिक अभियन्ता मञ्जु खड्का आगामी तिन वर्षका लागि नियुक्त हुनुभएको छ। तीन वर्षे कार्यकाल रहने आयोगले साउथ अष्ट्रेलियामा रहेका आप्रवासीहरुको सरकारसँगका अपेक्षा अनि तीनका सांस्कृतिक विविधताको संरक्षणका लागि सुझाव दिने गर्दछ ।

आयोगले बहुसांस्कृतिक मुलुक अष्ट्रेलियामा रहेका विविध सांस्कृतिक समूहहरुबीचमा सुमधुर सम्बन्धहरु राख्नका लागि के-के गर्नुपर्छ र त्यसमा के-के चुनौतीहरू छन् त्यसका बारेमा पनि बहुसांस्कृतिक मन्त्री मार्फत सरकारलाई प्रतिवेदन पेश गर्ने गर्दछ । राज्य सरकारले आयोग गठनका लागि सार्वजनिक रुपमा इच्छुकहरुका लागि दरखास्त आव्हान गरेको थियो ।

दरखास्त दिनेहरुको छनौटका लागि गठित स्वतन्त्र आयोगले शैक्षिक योग्यता सहित सामाजिक पृष्ठभुमी, क्रियाशिलता वारेमा अध्ययन गरेर साउथ अष्ट्रेलियन मल्टीकल्चर ऐन २०२१ अनुसार अध्यक्ष  सहित पन्ध्र जनाको छनौट गरेको हो । साउथ अष्ट्रेलियामा दुई सय भन्दा बढी समुदाय रहेको मानिन्छ त्यसै समूदायहरुमा क्रियाशिलहरु मध्येबाट १५ जनाको आयोग सरकारले निर्माण गर्ने गरेको छ । खड्काको यो दोस्रो कार्यकाल हो ।

खड्काले पहिलो कार्यकालमा नेपाली सहित अष्ट्रेलियामा बढदै गरेका समुदायहरुको संस्कृतिको संरक्षण र प्रवर्धन गर्न राज्यमा ध्यानआकर्षण गराएको बताउनुभयो । उहाँले खास गरि नेपाली समुदाय भित्र समेत विभिन्न शैक्षिक तथा बौद्धिक क्षमता भएर पनि फरक रोजगारीमा संलग्न जनशक्तिलाई सहि क्षेत्रमा लगाउन सके सम्वन्धीत व्यक्ति मात्र नभएर राज्यलाई समेत सहि व्यक्ति सहि ठाउमा पुग्दा फाईदा हुने विषयमा आफुले ध्यानआकर्षण गराएको बताउनुभयो ।

कतिपय बिषयमा एक अर्को समुदायले सहयोग आदान प्रदान गरेर पनि हितमा काम गर्न सक्ने अबस्था रहेकाले आफुले त्यसमा पनि विभिन्न समुदायका अगुवाहरुसंग छलफलहरु गरेको उहाँले बताउनुभयो । सदस्य खड्काले पछिल्लो समयमा नेपाली विभिन्न संघ संस्थाहरुलाई सामाजिक कामहरुमा राज्यले दिने सहयोग र त्यसका प्रक्रिया वारेमा सुसुचित गर्दै सल्लाह  सुझाव समेत दिने गरेको जसले पछिल्लो समयमा राज्यको अनुदानमा नेपाली संस्थाहरुको पहुच बढेको  बताउनुभयो ।

खड्काले आयोग सदस्यका रुपमा साउथ अष्ट्रेलियामा क्रियाशिल विभिन्न समुदायको कार्यक्रममा सहभागी हुने क्रममा नेपाल र नेपालीलाई पनि चिनाउन सफल भएको बताउनुभयो । साउथ अष्ट्रेलियन सरकारले छनौट समितिको सिफारिसमा आयोग सदस्यमा नियुक्त खड्काले नेपाली समाजको प्रतिनिधित्व गर्दै बहुसांस्कृतिक आयोगमा नियुक्त हुन पाउदा गर्व लागेको प्रतिक्रिया दिनुभयो । खड्काले आयोग मार्फत नेपाली समाजलाई थप योगदान गर्दै सिंगो बहुसांस्कृतिक समुदायका हकहित र अधिकारलाई सुनिश्चितताका लागि क्रियाशिल रहने बताउनुभयो ।

नेपालमा समेत विभिन्न सामाजिक संघ संस्थामा कृयाशिल खड्काले २०१४ मा अष्ट्रेलिया आगमन देखि नै सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै स्थानीय म्यारियन काउन्सिलबाट सामुदायिक नेतृत्व विकासको कोर्स गरेर काउन्सिलको सामुदायिक गतिविधि मुल्यांकन टिममा रहेर काम गर्नुभएको थियो ।  संस्थागत प्राचार्य हुनुका साथै शिक्षकका रुपमा लामो समयदेखि एडिलेड नेपाली विद्यालयमा योगदान गर्नुका साथै २०१९ मा  एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलिया र २०२१ मा नारी निकुञ्ज अष्ट्रेलियाको संयोजकको समेत जिम्मेवारी सफतापुर्वक निर्वाह गर्नुभएको थियो ।

खड्का बहुसास्कृतिक परिषद सदस्यका रुपमा समेत साउथ अष्ट्रेलियामा रहेका विभिन्न समुदायको सास्कृतिक विविधताको रक्षामा क्रियाशिल रहदै आउनुभएको छ । खड्काले विगतमा प्रवासको दैनिक जीवन अनि अध्ययनसंगै सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको र गत वर्ष आयोगमा नियुक्ति भएपछि विभिन्न समुदायका कार्यक्रमहरुमा सक्रियता पूर्वक सहभागी हुँदै आएकोमा यो नियुक्तिले थप काम गर्न प्रेरित गरेको बताउनुभयो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार १६:४२