१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

बागमती प्रदेशसभाको बैठक बस्दै, यी हुन् आजका कार्यसूची


१२ असार, काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै छ । उक्त बैठक बिहान ११ः३० बस्ने तय भएको छ ।

बैठकमा प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । मङ्गबार बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को विभिन्न शीर्षकअन्तर्गत विभिन्न मन्त्रालयको विषयगत छलफल प्रारम्भ भएको थियो ।

यही असार १ गते प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

मङ्गलबार बसेको प्रदेशसभा बैठकबाट प्रदेश उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार १०:३२