२९ माघ २०८२, बिहीबार | Fri Feb 13 2026

नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्याल विरूद्ध भ्रष्टाचार मुद्दा

९ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली अहिले पनि विशेष अदालतमा रहेको छ ।

सञ्चार मन्त्रालयका सचिव छँदा भएको अन्तःशुल्क स्टिकर घोटाला प्रकरणमा अर्याललाई दोषी किटान गरी मुद्दा चलाउन अख्तियारको टोली विशेष अदालत पुगेको हो ।  यस प्रकरणमा अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलाई पनि प्रतिवादी बनाइएको छ। उनी हाल मन्त्रालयको बजेट महाशाखा प्रमुख छन्। शाक्य आन्तरिक राजश्व विभागका महानिर्देशक हुँदा अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

अर्याललाई सरकारले विसं २०८० जेठ ३२ गते मुख्यसचिव नियुक्त गरेको थियो। भ्रष्टाचार मुद्दा दायर भएलगत्तै उनी स्वतः निलम्बनमा पर्नेछन्। अर्यालले २०८० असार २ मा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउँदै थिए। त्यसको ३ दिनअघि नै सरकारले उनलाई मुख्यसचिव नियुक्त गरेको थियो।

त्यसअघि उनी प्रधानमन्त्री कार्यालयमा सचिव थिए । मुख्यसचिव अर्यालमाथि अन्य भ्रष्टाचार प्रकरणमा पनि अनुसन्धान भइरहेको छ। केही मुद्दा तत्कालै दर्ता गर्ने अख्तियारको तयारी छ।

प्रकाशित मिति : ९ असार २०८१, आईतवार १४:५१