१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्नः जीबीलाई भगाउन लोकेसन पत्ता लाग्यो भनेर स्टन्टबाजी गर्ने ?


९ असार, काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जिवी राईलाई पक्राउ गर्न माग गर्नुभएको छ । उहाँले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा गुनासो गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै आकस्मिक समयमा सांसद शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी ठगी प्रकरणमा जोडिएका राईको लोकेशन पत्ता लागिसकेको भन्ने जानकारी दिनुभएको सन्दर्भ जोड्दै तत्काल कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

‘संसारलाई थाहा छ । गोरखा मिडियाका तत्कालीन दुई मालिकमध्ये एउटा फरार छन् । अर्को गृहमन्त्री हुनुहुन्छ । सहकारी ठगीमा फरार व्यावसायिक साथीलाई सहकारी ठगीमा रहेकालाई गृहमन्त्रीले पक्राउ गर्नुपर्नेछ,’ शर्माले भन्नुभयाे, ‘लोकेसन पत्ता लगाइसक्यो भनेको जीबी राईलाई के भगाउनका लागि हो माइकबाट फुकेर लोकेसन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने ? कि सरकार चाँडै जीबी राईलाई हाजिर गराउँदैछ?,’ उनले भने।

‘जीबी राईको लोकेशन चाहिएको होइन । देशलाई जीबी राई चाहिएको छ । लोकेसनमा गेट बनाएर कार्पेट ओछ्याएर दुई पक्षीय वार्ता हुने हो र ?,’ उहाँले भननुभयाे, ‘लोकेशन पत्ता लागेको ४ दिन भयो । लोकेशन पत्ता लागेपछि मलेसियाको सरकारसँग समन्वय गर्न चार दिन किन लाग्छ ?’

उहाँले सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान प्रक्रियामा सहभागी प्रहरी अधिकारीलाई सरुवा गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।

प्रकाशित मिति : ९ असार २०८१, आईतवार १३:२७