१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण


८ असार, काठमाडौँ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा प्रकाशित ‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण गरिएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा संस्कृतिविद् प्राज्ञ डा जगमान गुरुङ, समीक्षक र लेखकहरुले संयुक्तरुपमा उक्त पुस्तकको लोकार्पण गर्नुभयो । कार्यक्रममा प्राज्ञ डा गुरुङले पुस्तकले धर्म, संस्कृति, परम्परा र सङ्घर्षलाई उजागर गरेको चर्चा गर्नुभयो । विभिन्न लेखकले गौतमप्रति गरेको श्रद्धाभावले उहाँको योगदानको उच्च मूल्याङ्कन गरेको भन्दै गौतम बहुआयामिक व्यक्तित्व भएको तथ्य पुस्तकले झल्काएको उहाँले बताउनुभयो ।

तत्कालीन बेलाको सङ्घर्ष, संस्कृतिको संरक्षण र संस्कारलाई आत्मसात गर्दै बहुआयामिक व्यक्तित्वको रुपमा पहिचान बनाउनुभएका गौतमको जीवनका अनेकौँ आयामलाई पुस्तकले उजागर गरेको प्राज्ञ डा गुरुङले बताउनुभयो । उहाँले पुस्तकले संस्कृति, संस्कारका साथै सङ्घर्षका विषयमा अध्ययन गर्न चाहनेलाई प्ररणा प्रदान गर्ने विश्वास व्यक्त गर्नभयो ।

पुस्तकका समीक्षक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक अध्ययन सकिँदा सिङ्गो भोजपुरलाई बुझ्न सकिने बताउनुभयो । उहाँले त्यसबेलाको सङ्घर्ष, रहनसहन, संस्कृतिलगायत जीवनशैलीलाई पुस्तकले उजागर गरेको भन्दै यसको अध्ययनबाट धेरै ऊर्जा प्राप्त गर्न सक्ने धारणा राख्नुभयो ।

समीक्षक प्रा डा नन्दीसकुमार अधिकारीले वेदविद्धता एवं शिक्षक भीमप्रसाद गौतमले समाज विकासदेखि रुपान्तरणसम्म निर्वाह गर्नुभएको भूमिकालाई पुस्तकले ताजा गराइदिएको बताउनुभयो । उहाँले आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानले अहिलसम्म विभिन्न १२ वटा पुस्तक प्रकाशित गरेको उल्लेख गर्दै प्रतिष्ठानले छात्रवृत्तिका लागि विभिन्न कोष खडा गरेर सामाजिक कार्य गरिरहेको जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति प्राध्यापक चेतोनाथ गौतम र प्रतिष्ठानका सचिव ब्रदीप्रसाद भट्टराईले पुस्तक जीवन उपयोगी हुनुका साथै यसले परिवर्तनको सन्देश प्रवाह गरेको बताउनुभयो । पुस्तकमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक शरच्चन्द्र भण्डारीलगायत विभिन्न व्यक्तित्वले लेख्नुभएको लेख समेटिएकाले पुस्तकले त्यसबेला र अहिलेको समयको परिवेशलाई प्रष्ट्याएको उहाँहरुको भनाइ छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार १७:१८