१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

बेलबारीमा रहेको वेतना सिमसार पर्यटकको रोजाइमा


८ असार, काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतनामा प्रत्यक्ष रुपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गरका साथै हरिणलगायत पशुपन्छीले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको हो ।

दुई प्रजातिका वेत वनस्पतीको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भटराईले बताए । यहाँ विषेश गरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्य भएकाले आन्तरिक पर्यटकको रोजाइमापर्न थालेको उनको भनाइ छ । उनका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ ।

करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् । साथै अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा फेला परेको अध्यक्ष भटराईले जानकारी दिए ।

यहाँ पाइने वनस्पती, पशुन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उनको भनाइ छ । उनका अनुसार विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पती यस क्षेत्रमा पाइन्छन् ।

सिमसारबाट आउने पानीले करिब एक हजार दुई सय बिघा खेतीयोग्य जमीनमा सिँचाइ हुँदै आएको समितिका सचिव सुजित बस्नेतले जानकारी दिए । “यहाँ आउने पर्यटका साथै सय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग क्षेत्रतर्फ तारले घेराबारा गरिएको छ भने यस क्षेत्रलाई थप आकर्षक बनाउन फुलबारी, विश्रामस्थल, वनभोजस्थल निर्माण गरिएको छ”, उनले भने ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पुर्वी नेपालको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताए । उनका अनुसार पछिल्लो समय विभिन्न गोष्ठी र सेमिनरका लागि देशका विभिन्न स्थानबाट समूहमा आगन्तुक आउने गरेका छन् ।

वेतनामा दैनिक तीन सयभन्दा बढी र बिदाको समयमा पाँच सयभन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका समितिका अध्यक्ष भट्टराईले जानकारी दिए । उनका अनुसार सिमसार प्रवेशवापत रु ३० को टिकट निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार १४:४९