१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

नाग्म–गममडी सडक स्तरोन्नति गर्न सहजका लागि उक्त खण्ड १५ दिन बन्द हुने


८ असार, काठमाडौँ । आन्तरिक तथा बाह्य पर्यटनको एक मात्र उपयुक्त आकर्षण पर्यटकीय गन्तव्यका रुपमा रहेको रारातालसम्म पुग्ने नाग्म–गममडी सडक स्तरोन्नति गर्न उक्त खण्ड १५ दिनसम्म बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक गरेको सूचना अनुसार यही असार ९ देखि २३ गतेसम्म बिहान ५ः३० देखि बिहान १० बजे र दिउँसो १ देखि ४ बजेसम्म सवारी आवगमन बन्द हुनेछन् ।

निर्माणाधीन नाग्म–गमगडी सडकखण्डको कनका सुन्दरी गाउँपालिकाको हाँटसिंजा क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले यातायात बन्द गर्नु परेको सडक डिभिजन कार्यालयका प्रमुख चेतनारायण मण्डलले बताए । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने उक्त सडकलाई स्तरवृद्धि गर्न लागिएकाले काम गर्न सहज बनाउने उद्देश्यले यातायात बन्द गरिने उनले जानकारी दिए ।

निर्माण अवधिमा यातायात बन्द हुने भएपछि रारा आउने पर्यटकका साथै मुगु आवतजावत गर्ने यात्रुलाई सास्ती हुने स्थानीय बताउँछन् । नाग्म–गमगडी सडकको पहिलो चरणमा छ किमी सडक कालोपत्र भएको छ । बाँकी चरणबद्ध रुपमा सडकलाई कालोपत्र गरिने जिल्लास्थित सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार १४:१६