१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

दुप्चेश्वर महादेवको दर्शन र पूजा अब मोबाइलबाटै गर्न सकिने (भिडियोसहित)


८ असार, नुवाकोट । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा अवस्थित रहेको दुप्चेश्वर महादेव मन्दिरको दर्शन मोबाइलबाट पनि गर्न सकिने भएको छ । मन्दिरका पुजारी भगवानहरि धितालले बिरामी परेर अशक्त भएकाहरूका लागि आफ्नो मोबाइल मार्फत मन्त्र पढेर मन्दिरको दर्शन र पूजा गराइदिने गर्नुभएको छ । उहाँले मोबाइलबाट मन्दिरको दर्शन गराउँदै बिरामीको स्वास्थ्यलाभको कामना पनि गर्ने गर्नुभएको छ । अस्वस्थ्य र अशक्त बिरामीहरूका लागि मन्दिरका पुजरीले उपलब्ध गराएको यो निकै राम्रो सेवा हो ।

दोस्रो पशुपतिको उपमा पाएको दुप्चेश्वरमा एकमात्र फल माग्दा प्राप्त हुने जनविश्वास रहेको छ । मन्दिरको संरक्षणका लागि पछिल्लो पटक स्थानीय, प्रदेश र संघीय सरकारले बजेट बिनियोजन गरेर विभिन्न कामहरू गरिरहेका छन । मन्दिरमा पहिलो पटक मन्त्रीको हैसियतमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पूजाअर्चना गर्नुभएको थियो । उहाँले त्यस समय संघीय सरकारका तर्फबाट पाँच करोड भन्दा बढी बजेट समेत बिनियोजन गराइदिनुभएको थियो ।

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको तत्कालीन राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । जिल्ला सदरमुकामदेखि ३५ किलोमिटर पूर्वको राउतवेशी गाविसको गौचरनमा रहेको मन्दिरमा विशेषत सन्तान नहुनेहरू सन्तान माग्न आउने गरेका छन ।

पौराणिक कथनअनुसार चार सय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ । दुग्धेश्वर महादेवको अपभ्रंश हुँदै अहिले दुप्चेश्वर महादेव नाम रहन गएको पुजारी धितालले दैनिकीलाई जानकारी दिनुभयो ।

दुप्चेश्वर मन्दिरमा दर्शन गर्न र पूजा गर्न नेपालका धेरै जिल्लाका नागरिकहरू जाने गरेका छन । मन्दिरको विशेष मेलाहरूमा भने नुवाकोट, राजधानी काठमाडौँ, धादिङ, रसुवालगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजनको बाक्लो उपस्थित हुनेगरेको छ ।

स्थानीय समेत रहनुभएका नेकपा एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य बलराम आचार्यले गोसाईकुण्ड माथिको सूर्यकुण्डको पानी तादी नदीको नाममा दुप्चेश्वरकै काखबाट बग्ने गरेको र उक्त नदीमा स्नान गरेर मन्दिरको दर्शन गर्दा सुख र शान्ति प्राप्त हुने जानकारी दिनुभयो । उहाँले दुप्चेश्वरलाई गोसाईकुण्डसँग जोड्नका लागि पदमार्गको निर्माण भैरहेको जानकारी दिनुभयो । आचार्यले दुप्चेश्वरबाट गोसाईकुण्ड जोड्ने गरी केबलकार निर्माणको कामका लागि समेत छलफलहरू चलिरहेको जानकारी दिनुभयो । उहाँले निकट भविष्यमै दुप्चेश्वर दैनिक हजाराैँको संख्यमा पर्यटकले भरिने हब बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पुजारीले मोबाइलबाट यसरी गराउनुहुन्छ मन्दिरको दर्शन

प्रकाशित मिति : ८ असार २०८१, शनिबार १०:५२