१४ असार २०८१, शुक्रबार | Sat Jun 29 2024

अमेरिकामा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सुरू


८ असार, काठमाडौँ । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ ।

नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर) सँगै सुरू भएको उक्त महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका चलचित्र, वृत्तचित्र, छोटा र सजीवता ९एनिमेसन० विधाका गरी ३५ चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिनुभयो ।

“नेपाल र अमेरिकाको कला, संस्कृति, परम्परा, ज्ञानलाई चलचित्रमार्फत जोड्ने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ । यसपटकको संस्करणमा हामीले छनोट गरेका चलचित्रले नेपालको आम जनजीवन र प्रवास नियतिलाई प्रष्ट्याउने छ”, उहाँले भन्नुभयो ।

यही असार ९ गतेसम्म चल्ने उक्त महोत्सवमा प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्ड प्रदान गरिने छ । महोत्सवको उद्घाटन समारोहमा निर्देशक सुब्बासँगै सहभागी हुनुभएका अभिनेता दयाहाङ राईले यस्ता गतिविधिले नेपाली चलचित्रको प्रवद्र्धनमा मद्दत पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अमेरिकामा बस्ने नेपालीको सक्रियतामा आयोजना हुने महोत्सवले नेपाली चलचित्रका दर्शक बढाउने छन् । यसले नेपाली मात्र नभई विदेशी दर्शकलाई पनि आकर्षित गरेको छ । साथै, यस्ता महोत्सवमा देखाउन योग्य चलचित्र गाउँ आएको बाटो लिएर आउन पाउँदा झनै हर्षित छु ।” महोत्सवलाई नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको हो ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार ०९:५९