१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

झापाका किसानले दुध बेचेको पैसा पनि पाएनन्, ‘मिल्क होलिडे’को अन्त्य गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

६ असार, झापा । दुग्ध किसानको बक्यौता रकम तत्काल भुक्तानी दिने व्यवस्था मिलाउन माग गर्दै नेपाल किसान महासङ्घ झापाले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत महासङ्घका अध्यक्ष रतन थिङ्लावोको नेतृत्वमा गएको किसानको टोलीले ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्रमा नेपाली किसानले उत्पादन गरेको दूध खरिद गरी ‘मिल्क होलिडे’को अन्त्य गरिनुपर्ने, उत्पादनका आधारमा दिइँदै आएको अनुदान कार्यक्रम पुनःसञ्चालनमा ल्याइनुपर्ने, सहुलियत कृषि ऋण र पशु बीमा अनुदान कार्यक्रम परिणाममुखी बनाइनुपर्ने, कृषि बीमामा सरकारकोतर्फबाट दिइने अनुदान तत्काल उपलब्ध गराएर किसानलाई बीमाबापतको रकम पाउने अवस्था सिर्जना गर्न माग गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पु¥याउनुपर्ने, दुग्धजन्य पदार्थको आयात रोकेर आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने, पाउडर दूध उत्पादन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, नेपालको आन्तरिक खपत आन्तरिक उत्पादनबाटै गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने, लम्पीस्किन रोगबाट पशुको क्षति व्यहोराका किसानलाई तत्काल अनुदान दिइनुपर्ने, बर्खे धानको उचित मूल्य तोकी सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउन ज्ञापनपत्रमा माग गरिएको छ ।

सरकारले तत्काल सम्बोधन गर्नुपर्ने उक्त माग पूरा नभए सडक आन्दोलनमा निस्कन बाध्य हुने चेतावनी दिँदै ज्ञापनपत्रमा किसानको समुन्नतिले मात्रै समग्र राष्ट्रको समुन्नति हुनेतर्फ सरकारलाई सचेत गराइएको छ ।

नेपालमा कृषि पेसामा आबद्धमध्ये ८६ प्रतिशत पशुपालन क्षेत्रमा संलग्न रहेको, देशको अर्थतन्त्रमा लगभग छ प्रतिशत योगदान दुग्धजन्य उत्पादनको रहेको, ३० लाख घरपरिवार प्रत्यक्ष÷अप्रत्यक्षरुपमा दुग्धजन्य उत्पादनमा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

दुग्ध उत्पादनतर्फ किसानको आकर्षण बढ्दै गएर स्वरोजगारी सिर्जना हुने अवस्थामा सरकारी बेवास्ताका कारण पेसा नै धरासायी हुनेतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराइएको छ । सो ज्ञापनपत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाइदिने प्रजिअ बास्तोलाले आवश्वासन दिनुभयो । रासस

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार २१:५८